जनकपुरधाम, २७ पुस । नेपाल पत्रकार महासंघ धनुषा शाखाले स्वर्गीय पत्रकार उमा सिंहको १७औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।स्मृति दिवसको अवसरमा महासंघले पत्रकारहरूको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा करिब ४० जना पत्रकारले स्वास्थ्य परीक्षण गराएका छन् ।

आज बिहान हाइटेक प्याथोलोजीका प्राविधिकहरूद्वारा पत्रकारहरूको रगत र पिसाबको नमुना संकलन गरिएको थियो । संकलित नमुनाबाट ब्लड सुगर, लिपिड प्रोफाइल तथा रुटिन युरिन परीक्षण गरिने बताइएको छ । यसका साथै पत्रकारहरूको रक्तचाप तथा अन्य आधारभूत स्वास्थ्य परीक्षणसमेत महासंघले गराएको छ ।
त्यसैगरी, आज साँझ स्व. उमा सिंहको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम पनि सम्पन्न गरिएको छ । स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्षहरू, प्रदेशका पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू तथा स्थानीय पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको धनुषा शाखाका अध्यक्ष पुरण साहले जानकारी दिनुभयो ।पत्रकार उमा सिंहको २०६५ साल पुस २७ गते एक समूहले खुकुरी प्रहार गरी निर्मम हत्या गरेको थियो । उनको हत्यापछि नेपाली पत्रकारितामा विशेषगरी महिला पत्रकारहरूको सहभागिता र सुरक्षाको विषयमा गम्भीर प्रश्न उठ्दै आएको छ ।

