काठमाडौं, ८ माघ । निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूको नामावली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्न लागिएको आयोगले जनाएको छ ।
मंगलबार साँझसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी दर्ता गरिएको हो ।
बुधबार साँझ नै दर्ता भएका उजुरीको जाँचबुझ सम्पन्न भइसकेकाले आज नामावली प्रकाशन गर्ने तयारी भएको आयोगले जनाएको छ । आयोगको कार्यतालिकाअनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ ।
यस्तै, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
आयोगका अनुसार हालसम्म पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी १ गरी कुल ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यसपटक जेन–जी आन्दोलनको पृष्ठभूमिमा संसद् विघटन भई कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा निर्वाचन हुन लागेको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तय गरेको छ ।
निर्वाचनमा पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुने आयोगले जनाएको छ ।



