जनकपुरधाम, १० माघ । देशभर कुष्टरोगको जोखिममध्ये मधेश प्रदेश सबैभन्दा उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । देशभर हाल २ हजार ४०९ जना कुष्टरोगी रहेकामा मधेश प्रदेशमा मात्र ८५७ जना रहेको जनाइएको छ ।
७३औँ कुष्टरोग दिवसको अवसरमा प्रस्तुत तथ्यांकअनुसार कुष्टरोगीको संख्यामा मधेश प्रदेश पहिलो स्थानमा छ भने लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको छ । कुल राष्ट्रिय तथ्यांकको झण्डै एकतिहाइ हिस्सा मधेश प्रदेशमै केन्द्रित रहेको देखिन्छ ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका कुष्टरोग अधिकृत राजवीर यादवले डिजिटल प्रस्तुति दिँदै मधेश प्रदेशमा कुष्टरोगीको संख्या अत्यधिक भए पनि उपचार तथा नियन्त्रणका लागि पर्याप्त लगानी नभएको बताए । “विगतका वर्षमा कुष्टरोगीको संख्या घट्दो क्रममा थियो । तर कोभिड–१९ महामारीका बेला पुनः वृद्धि भयो, अहिले भने नयाँ कुष्टरोगीको संख्या उल्लेखनीय रूपमा घटेको छ,” उहाँले भन्नुभयो ।
यस आर्थिक वर्षमा मधेश प्रदेशमा ५८ जनामा मात्र नयाँ कुष्टरोग पुष्टि भएको छ । १४ वर्ष मुनिका कुष्टरोगी देशभर ९१ जना रहेकामा मधेश प्रदेशमा ४० जना छन् । यस्तै, देशभरका १ हजार १२ महिला कुष्टरोगीमध्ये ३७८ जना मधेश प्रदेशका रहेको तथ्यांकमा उल्लेख छ ।
एक लाख जनसंख्यामा पत्ता लाग्ने नयाँ कुष्टरोगीको दर देशभर ८.१६ रहेकामा मधेश प्रदेशमा १३.६७ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा निकै बढी हो । त्यस्तै, प्रति १० हजार जनसंख्यामा वर्षको अन्त्यसम्म उपचारमा रहेका बिरामीको प्रकोप दर देशभर ०.८८ हुँदा मधेशमा १.२८ पुगेको छ ।अधिकृत यादवका अनुसार मधेश प्रदेशका १३६ पालिकामध्ये हालसम्म ४५ पालिका मात्र कुष्टरोगमुक्त घोषित भएका छन् । पर्सा, सिरहा र जनकपुरधाम क्षेत्रलाई अति उच्च कुष्टरोग जोखिम क्षेत्रका रूपमा चिनाइएको छ ।
ई.स. २०१९ देखि हालसम्म २७ प्रतिशत कुष्टरोगी निको भए पनि कुष्टरोगका कारण हुने अपाङ्गता दर अझै उच्च रहेको उहाँको भनाइ छ । साथै, कुष्टरोगसँग सम्बन्धित सामाजिक भेदभाव कायमै रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
७३औँ कुष्टरोग दिवसको अवसरमा सिरहा, धनुषा र सर्लाहीसहित ६ स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिइएको छ ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत महेश साह, प्रमुख उमेश साह, लालगढ अस्पतालका तालिम अधिकृत अरविन्द साह, स्वास्थ्य निर्देशनालय मधेश प्रदेश डब्लुएचओ शाखाका शिव पौडेल, मनोजकुमार साहलगायतले कुष्टरोगको अवस्था, उपचार र चुनौतीबारे आ–आफ्ना धारणा राखेका थिए ।

