जनकपुरधाम, १२ माघ । पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहको जनकपुरधाम भ्रमणका क्रममा सोमबार उहाँका समर्थकहरूले ‘हिन्दु राष्टू कायम गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । धार्मिक स्थलहरूको दर्शनका लागि जनकपुरधाम आइपुगेका पूर्व राजा शाहको उपस्थितिलाई लक्षित गर्दै समर्थकहरूले राजसंस्थाको पुनःस्थापना र नेपाललाई हिन्दु राष्टू घोषणा गर्नुपर्ने माग अघि सारेका हुन् ।

पूर्व राजा शाहले सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजा(अर्चना तथा आरती गरेका छन् । त्यसपछि उहाँ राममन्दिर र राजदेवी मन्दिरमा समेत पुगेर पूजापाठमा सहभागी हुनुभयो । धार्मिक आस्थाका केन्द्रहरूमा गरिएको उहाँको दर्शन कार्यक्रमका क्रममा ठूलो संख्यामा समर्थकहरू उपस्थित भएका थिए । समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ, देश बचाऊ’, ‘हिन्दु राष्टू कायम गर’ जस्ता नाराहरू लगाउँदै पूर्व राजाप्रति समर्थन जनाएका थिए ।
पूर्व राजा शाहको मन्दिर दर्शन कार्यक्रमलाई ध्यानमा राख्दै सोमबार बिहानैदेखि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको थियो । जानकी मन्दिर, राममन्दिर र राजदेवी मन्दिर वरपर सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति देखिएको थियो । सम्भावित अप्रिय घटनालाई रोक्न प्रहरी प्रशासनले निगरानी बढाएको थियो भने मन्दिर परिसरमा प्रवेश व्यवस्थापनसमेत कडाइका साथ गरिएको थियो ।

पूर्व राजालाई एक झलक हेर्नका लागि समर्थकहरूको भीड लागेको थियो । विशेष गरी जानकी मन्दिर परिसरमा बिहानैदेखि समर्थकहरूको ताँती लागेको देखिन्थ्यो । कतिपय समर्थकहरू परम्परागत पोसाकमा देखिएका थिए भने केहीले राष्टिूय झण्डा र धार्मिक चिन्ह बोकेका थिए । समर्थकहरूले धार्मिक भावनासँगै वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै नाराबाजी गरेका थिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार देशमा राजनीतिक अस्थिरता, सरकारप्रति बढ्दो असन्तोष र निर्वाचनको समय नजिकिँदै जाँदा पूर्व राजा शाह यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सक्रिय रूपमा सहभागी हुँदै जनतामाझ पुग्ने गरेको देखिन्छ । विगतका वर्षहरूमा पनि पूर्व राजा शाहले विभिन्न मठ(मन्दिर तथा धार्मिक स्थलको दर्शन गर्दै सार्वजनिक रूपमा देखिने गरेका थिए, जसलाई कतिपयले राजनीतिक सन्देशसँग जोडेर हेर्ने गरेका छन् ।
यद्यपि पूर्व राजा शाह स्वयंले जनकपुरधाम भ्रमणका क्रममा कुनै राजनीतिक अभिव्यक्ति दिएका छैनन् । तर उहाँको उपस्थितिलाई आधार बनाएर समर्थकहरूले खुलेआम राजसंस्था र हिन्दु राष्टूको पक्षमा नारा लगाउनु भने पुनः एकपटक राजसंस्थाबारेको बहसलाई सतहमा ल्याएको छ । जनकपुरधामको यो घटनाले देशको समसामयिक राजनीति र धार्मिक पहिचानसम्बन्धी बहसलाई थप चर्काउने संकेत देखिएको छ ।

