जनकपुरधाम, १९ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा) परित्याग गरेका नेता संजय चौधरी र संजय सिंह हाल कुन राजनीतिक दलमा आबद्ध हुने भन्ने विषयमा विचाराधीन अवस्थामा रहेका छन् । देश निर्वाचनमय वातावरणमा प्रवेश गरिसकेको बेला उनीहरूको आगामी राजनीतिक निर्णयलाई लिएर मधेश राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ ।
रामुपा छाडेपछि उनीहरू विभिन्न दलका नेताहरूसँग सम्पर्कमा रहेको बुझिएको छ । यसै सन्दर्भमा संजय चौधरीले आफू अहिले हतारमा कुनै पनि दलमा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । “देश अहिले निर्वाचनको संघारमा छ । विशेषगरी नयाँ पुस्ता केन्द्रित ‘जेन–जेड’ आन्दोलन र मधेशी जनताको राजनीतिक चाहनालाई गम्भीर रूपमा अध्ययन गरिरहेको छु,” उनले भने, “म सधैं मधेशी जनताको अधिकार, पहिचान र सम्मानका लागि संघर्ष गर्दै आएको व्यक्ति हुँ । मधेशी जनताको शहादत र बलिदानलाई लत्याउने कुनै पनि राजनीतिक शक्तिसँग म जान सक्दिनँ ।”
उनका अनुसार एमाले, नेपाली कांग्रेस, कम्युनिस्ट घटकसहित विभिन्न राजनीतिक दलहरूले आफूलाई पार्टीको उच्च तहमा स्थान दिने प्रस्ताव गरिरहेका छन् । तर, ती प्रस्तावभन्दा पनि पार्टीको नीति, विचार र मधेशप्रतिको प्रतिबद्धता आफूका लागि निर्णायक हुने उनको भनाइ छ । “पद र हैसियतभन्दा विचार ठूलो कुरा हो,” चौधरीले थपे, “त्यसैले म अहिले गम्भीर विचार–विमर्शकै चरणमा छु ।”
यस्तै, अर्का नेता संजय सिंहले आफूलाई ‘राजनीतिक प्राणी’को संज्ञा दिँदै राजनीति नै आफ्नो जीवनको मार्ग भएको बताएका छन् । तर निर्वाचनको समय भएकाले दलहरूबाट आउने प्रस्तावप्रति सतर्क रहेको उनको भनाइ छ । “निर्वाचन जित्न दलहरूले जे पनि गर्न सक्छन्,” सिंहले भने, “तर म मधेशी जनताको भावना बुझ्ने, उनीहरूको पीडा र अपेक्षाअनुसार शान्ति–सुरक्षा, विकास र सुशासनमा काम गर्ने पार्टीमै जानेछु ।”
सिंहका अनुसार कांग्रेस, एमालेलगायत ठूला दलका नेताहरूले लिखित सम्झौता गरेर आउनसमेत आग्रह गरिरहेका छन् । तर विगतमा ती दलहरूको मधेशप्रतिको व्यवहार र वर्तमान राजनीतिक अवस्थालाई मूल्यांकन गर्दै आफू भावनात्मक होइन, विवेकपूर्ण निर्णयमा पुग्ने उनले बताए । “विगत र वर्तमानलाई हेरेर मात्रै म कुनै पार्टीमा प्रवेश गर्नेछु,” उनले स्पष्ट पारे ।
यसैबीच, राष्ट्रिय मुक्ति पार्टी नेपाल परित्याग गरेका संजय चौधरी, संजय सिंहलगायत नेता तथा कार्यकर्ताहरू जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने विषय लगभग निश्चित भइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार निर्वाचन अघि नै उनीहरू जसपा नेपालमा औपचारिक रूपमा आवद्ध हुने तयारीमा छन् ।
स्रोतले मधेश जनताको अधिकार, पहिचान र समावेशी राजनीतिका सवालमा निरन्तर संघर्ष गर्दै आएको दलका रूपमा जसपा नेपाल नै उपयुक्त विकल्प भएको ठोकुवा गरेको छ । मधेशी मुद्दालाई केन्द्रमा राखेर व्यवहारिक राजनीति गर्ने दल भएकाले चौधरी, सिंहसहितका नेता–कार्यकर्ताहरू अन्ततः जसपा नेपालमै जाने सम्भावना बलियो देखिएको स्रोतको भनाइ छ ।
यता नेता चौधरी र सिंहले पनि जसपा नेपालले आफूलाई चाहे अनुसारको स्थान दिने भनिएकोले जाने सम्भावना रहेको बताएका छन् ।



