जनकपुरधाम, फागुन ४ गते। भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा भोलि (मङ्गलबार)देखि चारदिने जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना हुँदैछ। मैथिली विकास कोषको आयोजनामा फागुन ५ देखि ८ गतेसम्म महोत्सवको पाँचौँ शृङ्खला सञ्चालन हुन लागेको हो।
कोषका अनुसार महोत्सवमा बौद्धिक विमर्श, नाटक तथा विविध सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिनेछ। कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवमा करिब २० विषयमा गहन विमर्श हुने जानकारी दिनुभयो। उहाँका अनुसार कला–साहित्यसँगै राजनीति, सामाजिक सरोकार र इतिहासलगायतका विषयमा छलफल हुनेछ। साथै चित्रकला, पुस्तक तथा मिथिला भोजन प्रदर्शनीसमेत आयोजना गरिनेछ।
महोत्सवमा नेपाल र भारतका विद्वान–विदुषी, कलाकार तथा नाट्य समूहहरूको सहभागिता रहने जनाइएको छ। चार दिनसम्म जनकपुरधाम साहित्य, कला र सङ्गीतले झङ्कृत हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।
महोत्सवका मुख्य आकर्षणमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा, उद्घाटन समारोह, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, कविता वाचन, लोकनृत्य तथा मिथिला चित्रकला प्रतियोगिता रहेका छन्। महोत्सव अवधिभर मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, मिथिला भोजन तथा पुस्तक प्रदर्शनीसमेत सञ्चालन गरिनेछ।
यसैगरी ‘छुतहा घेल’, ‘कथा नइ भेटल’, ‘जटजटिन’, ‘देसिल वयना’ र ‘बहुरुपिया’लगायतका नाटक मञ्चन गरिने कार्यक्रम छ। भारतको पटनास्थित चेतना समितिद्वारा ‘देसिल बयना’ नाटक प्रस्तुत गरिनेछ। नेपाल र भारतका विशिष्ट रङ्गकर्मी, गायक–गायिका तथा नाट्य समूहहरूको सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।
फागुन ७ र ८ गते पुस्तक चर्चा, दलित विमर्श तथा “भाषास् हिमालयसँ गंगा धरि”, “नेपालीय मैथिली साहित्यक प्रवृत्ति”, “जनकपुर गाथा”, “सुगम प्रदेशमे दुर्लभ शिक्षा”, “जल सभ्यता”, “अर्थः लेबर सोल्जर” लगायतका विषयमा विमर्श आयोजना गरिनेछ। साथै कवि गोष्ठी, विद्यालयस्तरीय कवि गोष्ठी, समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमसमेत हुने जनाइएको छ।
वि.सं. २०५८ सालमा स्थापना भएको मैथिली विकास कोषले प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रियस्तरको महोत्सव आयोजना गर्ने प्रतिबद्धताअनुसार यसअघि २०७३, २०७५, २०७८ र २०८० मा चार शृङ्खला सफलतापूर्वक सम्पन्न गरिसकेको छ। महोत्सव शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनामा सञ्चालन हुने जनाइएको छ।

