जनकपुरधाम ४ वैशाख । वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय ‘मिना’ले एक समारोहबीच करिब चार करोड रुपैयाँ लागतमा निर्माण हुने विद्यालय भवनको शिलान्यास गर्नुभएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका–३ स्थित श्री जनशक्ति माध्यमिक विद्यालयमा चारतले भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।

विद्यालय अन्तरगत करीब दुई विघा जग्गा रहेको र सोही जग्गामा भवन निर्माण हुने बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष रामअशिष महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै महावाणिज्यदूत मिनाले भारत–नेपाल विकास साझेदारी अन्तर्गत मधेश प्रदेशमा ८९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) स्वीकृत गरिएको जानकारी दिनुभयो । तीमध्ये धनुषामा २१ वटा परियोजना रहेका छन् । धनुषामा निर्माणाधीन २१ विद्यालय भवनमध्ये १३ वटाको काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।

नवनिर्मित भवनमा रसायनशास्त्र, भौतिकशास्त्र तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, शिक्षक तथा कर्मचारी कक्ष, प्रधानाध्यापक कक्ष, बैठक कक्ष तथा बालमैत्री शौचालयको व्यवस्था हुने जनाइएको छ ।
महावाणिज्यदूत मिनाले विद्यार्थीहरूलाई आधुनिक र गुणस्तरीय शिक्षण वातावरण उपलब्ध गराउने भारत सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो । बालबालिका तथा विद्यार्थीका लागि प्रभावकारी शिक्षण सुविधा र अनुकूल शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो ।

यसअघि पनि भारत सरकारको सहयोगमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–तुलसियाही जब्दीस्थित श्री वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालयमा करिब चार करोड रुपैयाँ लागतमा भवन निर्माण गरिएको थियो ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण अंश रहेको उल्लेख गर्दै उहाँले विद्यालय, कलेज, अस्पताल, जल निकास, नदी तटबन्ध व्यवस्थापनलगायत नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा आधारभूत पूर्वाधार विकास गर्ने उद्देश्यले यी परियोजनाहरू कार्यान्वयन हुँदै आएको जानकारी दिनुभयो ।
भारत सरकारले मधेश प्रदेशमा विभिन्न विकास परियोजना स्वीकृत गर्नुका साथै एम्बुलेन्स र स्कूल बससमेत सहयोगस्वरूप उपलब्ध गराएको जनाएको छ ।

मधेश प्रदेशमा सञ्चालित परियोजनाहरू शिक्षा, स्वास्थ्य, सडक तथा पुल निर्माण, नदी तटबन्ध व्यवस्थापन, सिँचाइ, संस्कृति संरक्षण तथा प्रवद्र्धन, विद्युतीकरणलगायत विविध क्षेत्रमा केन्द्रित रहेका छन् ।

