जनकपुरधाम, ५ वैशाख । हाइवे आसपासका होटल तथा खाद्य पसलहरूमा गुणस्तरसम्बन्धी गुनासो बढ्न थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमनलाई तीव्र बनाएको छ ।
शुक्रवार सो कार्यालयका खाद्य निरीक्षण अधिकारी, प्रविण कुमार तिवारीको नेतृत्वमा गएको टोलीले हाइवे होटल, गेष्ट हाउस तथा अन्य पसलहरुमा अनुगमन गरेको छ ।

टोलीले होटल सिद्धार्थ एण्ड थकाली, कोशी हाइवे होटल, होटल ग्रिन हाइवे, दिनी भेना होटल एण्ड गेष्ट हाउस, होटल बौवा लगायतका होटलहरूमा अनुगमन गरेको जनाएको छ । तिवारीका अनुसार कार्यालयले नियमित रूपमा प्रत्येक महिनामा यस्ता होटल तथा पसलहरूको निरीक्षण गर्दै आएको छ ।
“मापदण्डविपरीत काम गर्ने व्यवसायीलाई चेतावनी मात्र होइन, आवश्यक परे सामान जफत र कानुनी कारबाही समेत गरिन्छ,” तिवारीले भनिन् ।

उपभोक्ताबाट प्राप्त गुनासोअनुसार केही होटलहरूले तोकिएको भन्दा बढी मूल्य असुल्ने, म्याद गुज्रिएका (एक्सपायरी) खाद्य वस्तु प्रयोग गर्ने, भान्साघर अस्वच्छ राख्ने तथा बासी खाना बिक्री गर्ने गरेको पाइएपछि अनुगमन गरिएको हो । सो क्रममा केही अवैध तथा म्याद नाघेका सामग्री जफत गरिएको र सुधार नगरे व्यवसाय बन्द गराइने चेतावनीसमेत दिइएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय प्रमुख अरविन्द लाल कर्ण, इलाका प्रहरी कार्यालय ढल्केवरका उज्ज्वल अधिकारी, खाद्य पदार्थ तथा गुण नियन्त्रण कार्यालयका प्रविधि सहायक सहेन्सा कुमार महेता, सञ्चारकर्मी प्रमोद साह र कैलास दास लगायतको सहभागिता रहेको थियो ।

कार्यालयले होटल व्यवसायीलाई खाद्य सामग्री खरिद गर्दा म्याद (एक्सपायरी डेट) अनिवार्य रूपमा जाँच गर्न, गुणस्तर सुनिश्चित गर्न तथा बिल सुरक्षित रूपमा राख्न सुझाव दिएको छ। साथै सरसफाइमा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।

