जनकपुरधाम, ७ वैशाख । महिलालाई रोजगारमूलक तथा व्यवसायमुखी बनाउने उद्देश्यले फाइबर माला तथा कालोधुप कपास बत्ती बनाउने सम्बन्धी ११ दिने तालिम जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा आज सम्पन्न भएको छ।
गरीबसँग विशेश्वर कार्यक्रमअन्तर्गत वडास्तरीय आर्थिक वर्ष २०८२/८३ को बजेटबाट रु तीन लाखको सहयोगमा आयोजना गरिएको उक्त तालिममा ३० जना महिलाको सहभागिता रहेको थियो।
फाइबर माला तथा कालोधुप कपास बत्ती तालिम उपभोक्ता समितिद्वारा सञ्चालित सो तालिमका सहभागी महिलालाई एक समारोहबीच प्रमाणपत्र वितरण गरिएको थियो।
समापन समारोहमा वडा नं २१ का अध्यक्ष राजनारायण साहले महिलाले आफ्नो हक र अधिकार सुनिश्चित गर्न घरभित्र मात्र सीमित नभई विभिन्न सीप तथा तालिममार्फत आत्मनिर्भर र व्यवसायी बन्नुपर्नेमा जोड दिए। उनले सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रदान गरिने यस्ता तालिमलाई व्यवहारमा उतार्न सके मात्र यसको सार्थकता हुने बताए।
त्यस्तै, जिल्ला समन्वय समिति धनुषाका सदस्य तथा समाजसेवी महेन्द्र महतोले समाज विकासमा महिलाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै महिला सशक्तिकरणमा राज्यले अझ गम्भीर ध्यान दिनुपर्ने बताए। रासस जनकपुरका कार्यालय प्रमुख सुरेश झाले तालिम लिएर मात्र नभई त्यसलाई व्यवहारमा लागू गर्न सके मात्र यसको वास्तविक उपयोगिता रहने विचार व्यक्त गरे। कार्यक्रम तालिम आयोजक उपभोक्ता समितिकी अध्यक्ष मैफुल खातुनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गरीबसँग विशेश्वर कार्यक्रमका सामाजिक परिचालक अशोक दास, मुख्य प्रशिक्षक चन्द्रकला सिंह तथा सहायक प्रशिक्षक नुतन कुमारी ठाकुरले समेत तालिमबारे धारणा राखेका थिए।

