जनकपुरधाम, १७ वैशाख । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले समृद्ध, अनुशासित र दिगो समाज निर्माणका लागि नैतिक शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन् । उहाँले नैतिकता बिना विकास अपूर्ण रहने उल्लेख गर्दै यसको सुरुवात परिवार, समाज र शैक्षिक संरचनाबाटै हुनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार जनकपुरधाममा मधेशी आयोगको आयोजना तथा इन्सेकको सहकार्यमा आयोजित ‘नैतिकवान मधेश र सशक्त नैतिक शिक्षा’ विषयक कार्यक्रममा बोल्दै प्रदेश प्रमुख लाभले मधेश ऐतिहासिक रूपमा नैतिक मूल्य–मान्यतामा आधारित समाज रहेको स्मरण गराए । उहाँले अष्टावक्र र राजर्षि जनकको उदाहरण प्रस्तुत गर्दै प्राचीन मिथिलामा नैतिक आचरण, सत्यनिष्ठा र कर्तव्यपरायणताको परम्परा रहेको उल्लेख गरे । “हाम्रो समाजले सदियौंदेखि नैतिकताको अभ्यास गर्दै आएको छ, तर अहिले त्यसलाई संस्थागत गर्दै पाठ्यक्रममा समावेश गर्ने आवश्यकता थपिएको छ,” उहाँले भने ।

प्रदेश प्रमुख लाभले नैतिक शिक्षा केवल सैद्धान्तिक विषय नभई व्यवहारिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे । उहाँका अनुसार नैतिकता व्यक्तिको चरित्र निर्माणसँग सम्बन्धित भएकाले यसको विकास बाल्यकालदेखि नै गरिनुपर्छ । “संस्था मात्र नैतिक भएर पुग्दैन, व्यक्तिहरू नै नैतिक हुनुपर्छ । जब व्यक्ति नैतिकवान हुन्छ, तब समाज स्वतः सुदृढ बन्छ,” उहाँले जोड दिनुभयो ।
उहाँले पछिल्लो समय समाजमा देखिँदै गएको अनुशासनहीनता, सामाजिक विकृति र मूल्यहीनताको समस्या समाधानका लागि नैतिक शिक्षालाई विद्यालय तहदेखि अनिवार्य बनाउनुपर्ने धारणा राखे । स्थानीय सरकारलाई पाठ्यक्रम निर्माणको अधिकार दिइएको सन्दर्भमा उनले स्थानीय भाषा, संस्कृति, धर्म, परम्परा र जीवनशैलीलाई समेटेर नैतिक शिक्षा विकास गर्नुपर्ने बताए । यसले बालबालिकामा आफ्नो पहिचानप्रति गर्व र जिम्मेवारीबोध विकसित गराउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा वक्ताहरूले आधुनिक शिक्षाले ज्ञान र सीप त दिएको भए पनि नैतिक मूल्यहरूको पक्ष कमजोर हुँदै गएको चिन्ता व्यक्त गरे । उनीहरूले प्रविधिको तीव्र विकाससँगै सामाजिक सम्बन्धहरू कमजोर बन्दै गएकाले नैतिक शिक्षाको महत्व झनै बढेको औंल्याए । परिवार र विद्यालयबीचको समन्वयमा आधारित नैतिक शिक्षा प्रणाली विकास गर्न सके मात्र सकारात्मक परिवर्तन सम्भव हुने धारणा राखिएको थियो ।

आयोगकी सदस्य आभा सेतु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य शारदा पहाडी दास, जिल्ला समन्वय समितिका संयोजक राजनन्दन मण्डललगायतले नैतिक शिक्षा समाज रूपान्तरणको आधार भएको बताए । उहाँहरूले नैतिक मूल्य, सहअस्तित्व, सहिष्णुता र जिम्मेवारीबोधलाई व्यवहारमा उतार्न शिक्षा प्रणालीलाई पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका छन ।
त्यसैगरी, आयोगकी सदस्य सिंह, इन्सेकका संयोजक राजु पासमान तथा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले नैतिक शिक्षा सम्बन्धी डिजिटल प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान अवस्था, चुनौती र सम्भावित समाधानका पक्षहरू उजागर गरेका छन् । प्रतिवेदनमा विद्यालयस्तरमा नैतिक शिक्षा कमजोर बन्दै गएको, पारिवारिक संस्कारमा कमी आएको र सामाजिक सञ्जालको प्रभावले व्यवहारमा परिवर्तन आएको उल्लेख गरिएको छ ।
कार्यक्रमका सहभागीहरूले नैतिक शिक्षा केवल पाठ्यक्रममा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले सरकार, शैक्षिक संस्था, अभिभावक र समाज सबैको संयुक्त प्रयासबाट मात्र नैतिकवान मधेश निर्माण सम्भव हुने बताएका छन् ।


