जनकपुरधाम, १७ जेठ । भारतबाट नेपाल आयात हुने आँपमा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतीय आँपमा रोग–कीरा तथा रासायनिक पदार्थको प्रयोग भेटिएपछि चालु आर्थिक वर्षको वैशाखदेखि आयात पूर्ण रूपमा रोकिएको भिठामोड क्वारेन्टाइन कार्यालयले जनाएको छ।
कार्यालयका निमित्त प्रमुख किशोरकुमार यादवका अनुसार नेपाली किसानलाई आँप उत्पादनमा आत्मनिर्भर बनाउने सरकारी नीतिअन्तर्गत पनि भारतीय आँप आयातमा रोक लगाइएको हो।
चालु आर्थिक वर्षको चैतदेखि हालसम्म भिठामोड नाकाबाट करिब १० लाख रुपैयाँ मूल्य बराबरको १५.८ मेट्रिक टन भारतीय आँप नेपाल भित्रिएको तथ्यांक छ। यस वर्ष मधेश प्रदेशका आठ जिल्लामा करिब ३० हजार ८ सय हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। प्रदेशभर ४० अर्ब ४० करोड रुपैयाँ मूल्य बराबरको चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन भएको अनुमान गरिएको छ।
चैत–वैशाखमा आएको हावाहुरी, असिना तथा ‘मधुवा’ रोगका कारण उत्पादनमा केही असर परे पनि समग्र उत्पादन उत्साहजनक रहेको सम्बन्धित निकायको भनाइ छ।
व्यापारीहरूले बढी नाफा कमाउने उद्देश्यले काँचो आँपलाई ‘कार्बाइड’ नामक रसायन प्रयोग गरी कृत्रिम रूपमा पकाएर बजारमा पठाउने गरेको चिकित्सकहरू बताउँछन्। यस्तो आँप सेवन गर्दा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने उनीहरूको चेतावनी छ।
सरकारले भारतीय आँप आयातमा प्रतिबन्ध लगाए पनि नेपाल–भारत खुला सीमाका कारण तस्करीमार्फत आँप भित्रिने क्रम भने रोकिएको छैन।
यसैबीच, सरकारले आर्थिक वर्ष २०८१÷८२ को भदौदेखि भारतीय केराको आयातसमेत प्रतिबन्ध गरेको छ। भारतीय केरामा ‘पनामा विल्ट’ रोगको संक्रमण देखिएकाले आयात रोकिएको प्रमुख यादवले जानकारी दिए। त्यसैगरी, कीराको जोखिमका कारण भारतबाट आयात हुने पानी भएको नरिवलमा पनि प्रतिबन्ध लगाइएको छ।
अघिल्लो आर्थिक वर्षको फागुनदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म भिठामोड नाकाबाट दुई करोड १५ लाख रुपैयाँ मूल्य बराबरको ३५९ मेट्रिक टन भारतीय आँप नेपाल भित्रिएको थियो।
कृषि मन्त्रालयका अनुसार हाल देशभर करिब ५३ हजार हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ।



