जनकपुरधाम १९ असार । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले स्वास्थ्य क्षेत्रको सुधार सरकारको मात्र जिम्मेवारी नभई नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षको साझा दायित्व भएको बताएका छन् । उनले प्रदेशका अस्पताललाई गुणस्तरीय बनाउने, स्वास्थ्य सेवाको प्रभावकारी निगरानी गर्ने तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
शुक्रबार स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशद्वारा आयोजित ‘स्वास्थ्य प्रवद्र्धनसम्बन्धी मिडियाकर्मीका लागि सञ्चार तथा पैरवी कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री साहले सञ्चारमाध्यमले स्वास्थ्य क्षेत्रका सकारात्मक पक्षलाई उजागर गर्नुका साथै जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सचेतनामूलक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले भने, “अस्पताललाई स्तरीय बनाउने र त्यसको प्रभावकारी निगरानी गर्ने दायित्व सरकारसँगै हामी सबैको हो । स्वास्थ्यसम्बन्धी जनचेतना विस्तार, स्वास्थ्य प्रवद्र्धन तथा सेवा गुणस्तर सुधारका विषयमा सञ्चारकर्मीले सकारात्मक र जिम्मेवार कलम चलाइदिनुपर्छ । म स्वास्थ्य क्षेत्रको प्राविधिक पक्षमा धेरै जानकार नहुन सक्छु, तर स्वास्थ्य सेवामा लापरवाही गर्ने वा जनस्वास्थ्यसँग खेलवाड गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ति दिइने छैन ।”

मन्त्री साहले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि स्वास्थ्य क्षेत्रमा कति बजेट विनियोजन भएको भन्नेबारे विस्तृत जानकारी नभए पनि चालु आर्थिक वर्षमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै सन्तोषजनक बजेट छुट्याएको बताए । उक्त बजेटको प्रभावकारी कार्यान्वयनमार्फत स्वास्थ्य सेवा थप सुदृढ बनाइने उनको विश्वास थियो ।
सञ्चार क्षेत्रका समस्याप्रति पनि मन्त्री साहले ध्यानाकर्षण गराउँदै संघीय सरकारले सार्वजनिक सूचना तथा टेन्डरलगायतका विज्ञापन प्रकाशनमा लगाएको रोक हटाउन आफूले नीतिगत रूपमा प्रदेश सभामार्फत आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चारमाध्यमलाई लोकतन्त्रको ऐना भन्दै यसको सुदृढीकरण राज्यको पनि दायित्व भएको उल्लेख गरे ।
“सञ्चार क्षेत्र बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ । त्यसैले सञ्चारमाध्यमको संस्थागत विकास र आर्थिक सबलीकरणका लागि आवश्यक पहल गरिनुपर्छ,” उनले भने ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले मधेश प्रदेशको जनसंख्या देशकै सबैभन्दा बढी भए पनि सोही अनुपातमा स्वास्थ्य क्षेत्रमा सरकारी लगानी हुन नसकेको बताए । उनले जनसंख्याको चापअनुसार स्वास्थ्य पूर्वाधार, जनशक्ति र बजेटको व्यवस्था हुन नसक्दा अपेक्षित स्तरको स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भइरहेको स्वीकार गरे ।
“मधेश प्रदेशमा जनसंख्या धेरै छ, तर त्यसअनुसार बजेट र स्रोतसाधन उपलब्ध छैन । यही कारण स्वास्थ्य सेवामा अझै धेरै सुधार गर्नुपर्ने अवस्था छ,” उनले भने ।
डा. यादवले प्रदेशका अधिकांश अस्पतालमा अत्यावश्यक औषधिको अभाव देखिनु गम्भीर समस्या भएको उल्लेख गर्दै सार्वजनिक खरिद प्रक्रियाको जटिलताका कारण तीन वर्षदेखि आवश्यक औषधि खरिद गर्न नसकिएको जानकारी दिए । उनका अनुसार कानुनी प्रक्रिया अत्यन्तै झन्झटिलो भएकाले समयमै खरिद प्रक्रिया सम्पन्न हुन नसकेको हो ।
उनले पछिल्ला केही वर्षमा मधेश प्रदेशले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारका प्रयास गरेको, नयाँ कार्यक्रम सञ्चालन गरेको तथा सेवा विस्तारमा केही उपलब्धि हासिल गरेको बताए । तर ती प्रयास मात्र पर्याप्त नभएको उल्लेख गर्दै आगामी दिनमा थप सुधार, प्रभावकारी व्यवस्थापन र दीर्घकालीन योजनाको आवश्यकता रहेको धारणा व्यक्त गरे ।
मानसिक स्वास्थ्यको विषयलाई विशेष रूपमा उठाउँदै डा. यादवले आत्महत्याको बढ्दो घटनाप्रति चिन्ता व्यक्त गरे । उनका अनुसार कोरोना महामारीका तीन वर्षमा करिब ११ हजार व्यक्तिको मृत्यु भएको थियो भने हाल नेपालमा प्रत्येक वर्ष करिब १० हजार व्यक्तिले आत्महत्या गर्ने तथ्यांक सार्वजनिक भएको छ । उनले मानसिक स्वास्थ्यलाई अब प्राथमिकतामा राखेर व्यापक जनचेतना, परामर्श सेवा र रोकथामका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा पत्रकार अनिल कर्ण, चिकित्सक उमेश यादवलगायतले मधेश प्रदेशको स्वास्थ्य अवस्थासम्बन्धी तथ्यांक, चुनौती र सम्भावनाबारे डिजिटल प्रस्तुति दिएका थिए । उनीहरूले स्वास्थ्य सेवाको गुणस्तर सुधार, सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सञ्चारमाध्यमको भूमिकाका विषयमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, महासंघका सचिव राजकमल सिंह, धनुषा शाखाका अध्यक्ष पुरन साहलगायत सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले स्वास्थ्य क्षेत्रमा पारदर्शिता, प्रभावकारी सेवा प्रवाह, जनउत्तरदायित्व तथा सञ्चारमाध्यमसँगको समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।



