जनकपुरधाम, ३० असार । नेपाल रेल्वे कम्पनीले दक्ष नेपाली जनशक्तिको अभावका कारण भारतीय कर्मचारीमा निर्भर रहनुपर्दा वार्षिक करिब १९ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको जनाएको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार हाल जयनगर–भंगहा रेल सेवामा इन्जिन चालक, इन्जिनियरलगायत २३ जना भारतीय कर्मचारी कार्यरत छन्। उनीहरूलाई तलब तथा भत्ताबापत वार्षिक करिब २० करोड रुपैयाँ खर्च हुने गरेको छ।
उनका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा कम्पनीले ८ करोड रुपैयाँ आम्दानी गरेको थियो भने १९ करोड रुपैयाँ घाटा व्यहोरेको छ। नेपाली दक्ष जनशक्ति अभावका कारण भारतीय कर्मचारी राख्नुपरेको र उच्च पारिश्रमिकका कारण सञ्चालन खर्च बढ्दा कम्पनी घाटामा गएको उनले बताए।
प्रबन्ध निर्देशक पराजुलीले खर्च घटाउन र रेल सेवालाई आत्मनिर्भर बनाउन नेपाली जनशक्ति उत्पादन तथा नियुक्तिको प्रक्रिया अघि बढाइएको जानकारी दिए।
कम्पनीका अनुसार जनकपुर रेल्वेमा रकम हिनामिना गरेको आरोपमा तीन कर्मचारीमाथि कारबाही गरिएको छ। साथै, महोत्तरीको भंगहादेखि बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा रहेको विवाद समाधान भएपछि ट्र्याक निर्माणको काम अघि बढेको छ।
हाल भारतको जयनगरदेखि महोत्तरीको भंगहासम्म ५६ किलोमिटर रेल सेवा सञ्चालनमा रहेको छ। यस खण्डमा दैनिक तीन पटक रेल सञ्चालन हुँदै आएको कम्पनीले जनाएको छ।
त्यसैगरी, संघीय सरकारको नीतिअनुसार रेल्वे कम्पनीले रेलमार्गअन्तर्गत पर्ने जग्गाको खोजी तथा संरक्षण अभियान पनि सुरु गरेको छ। अतिक्रमण हटाउन माइकिङ गर्ने, रेल्वे स्टेशनहरूमा यात्रुका गुनासा संकलन गर्न उजुरी पेटिका राख्ने लगायतका काम पनि अघि बढाइएको कम्पनीले जनाएको छ।



