जनकपुरधाम, २५ साउन । गुणस्तर तथा नापतौल कार्यालय धनुषाले आर्थिक वर्ष २०८२÷०८३ मा २ हजार ३५३ फर्मलाई कारवाही गरी २२ लाख १६ हजार ११० रुपैया जरिवाना गरेको छ ।
प्राप्त समाचार अनुसार सो कार्यालयको क्षेत्राधिकार भित्र पर्ने धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप जिल्लामा अनुगमन गर्दा अधिकांश फर्मले अनुमति नलिई ढकतराजु प्रयोग गर्ने, जाँच नगराउने जस्ता कार्य गर्ने गरेकोले ती व्यापारी फर्मलाई कारवाही गरी जरिवाना गरिएको प्रमुख सुनिल कुमार यादवले बताउनुभयो ।
सो कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा एकवर्षभित्र २ हजार ४३ फर्मलाई कारवाही गरी २२ लाख ६०हजार ४ सय रुपैया जरिवाना गरेको थियो । कार्यालयले २८०० व्यपारीहरुको नापतौल तथा नाप्ने तोल्ने यन्त्र जाँच गरिएको थियो भने १ हजार २७८ नयाँ फर्मलाई अनुमति दिएको छ ।
गत विगत वर्षमा ३५(४० लाख मात्र राजस्व उठाउने सो कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न शीर्षक गरी ५५ लाख ८३ हजार ७१४ रुपैया राजस्व उठाएको छ । कार्यालयले घरदैलोमा गएर सेवा दिदा यन्त्रको अनुमतिपत्र लिनेको संख्यामा वृद्धि भएको छ । सो कार्यालयले सम्बन्धित पाँच जिल्लामा घुम्ती सेवा प्रदान, जनचेतना कार्यक्रमको आयोजना गरी प्रभावकारी अनुगमन समेत गरेको छ । कार्यालयसँग सवारी साधन नभएकोले प्रभावकारी रुपमा काम गर्न सकिएको छैन । प्रत्येक जिल्लाको स्थानीय तहमा घुम्ती सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न सवारी साधन र बजेटको अभाव देखिएको छ । एआईद्वारा तयार गरिएको तस्वीर



