जनकपुरधाम, ३१ साउन । धनुषा जिल्लामा आर्थिक वर्ष २०८२÷८३ मा दुई हजारभन्दा बढी उद्योग तथा व्यवसाय दर्ता भए पनि २४६ वटा उद्योग तथा फर्म खारेज भएका छन्। कोभिड–१९ पछिको आर्थिक मन्दी, बजारको अस्थिरता, बैंक ऋणको जटिल प्रक्रिया, आयातित वस्तुसँगको प्रतिस्पर्धा तथा बजार अभावका कारण उद्योग तथा व्यवसाय बन्द हुने क्रम बढ्दै गएको छ।
घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ एक हजार २६३ वटा फर्म दर्ता भएकामा १६५ वटा खारेज भएका छन्। त्यसैगरी उत्पादनमूलक उद्योगतर्फ ७७७ वटा फर्म दर्ता भएकामा ८१ वटा बन्द भएका छन्।
कार्यालयका सूचना अधिकारी नरेश कुमार यादवका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका उद्योग तथा फर्ममा कुल दुई अर्ब ४३ करोड ७६ लाख रुपैयाँ लगानी भएको छ। ती उद्योग तथा व्यवसायको वार्षिक उत्पादन क्षमता चार अर्ब तीन करोड १४ लाख २६ हजार रुपैयाँ बराबर रहेको छ।
कार्यालयको वार्षिक तथ्याङ्कअनुसार वाणिज्यतर्फ एक हजार २६३ नयाँ फर्म दर्ता, एक हजार ७९८ नवीकरण, १६५ खारेजी, ८६ पूँजी वृद्धि तथा १८ वटा नामसारी र ठाउँसारी भएका छन्।
उद्योगतर्फ भने ७७७ वटा नयाँ फर्म दर्ता भएका छन्। यस अवधिमा ३३ वटा नामसारी, सात वटा नाम परिवर्तन, सात वटा ठाउँसारी, ३५ वटा पूँजी वृद्धि, ९६८ वटा नवीकरण, ८१ वटा लगत कट्टा तथा ८३ वटा आयात–निर्यातसम्बन्धी फर्म दर्ता भएका छन्।
नयाँ उद्योग तथा व्यवसाय सञ्चालनमा आएपछि ३४४ महिला र दुई हजार ६७८ पुरुषले रोजगारी पाएका छन्। महिलाले आफ्नो नाममा फर्म दर्ता गर्दा संघीय सरकारले वाणिज्यतर्फ ५० प्रतिशत र उद्योगतर्फ ३५ प्रतिशत राजस्व छुटको व्यवस्था गरेको छ।
गत आर्थिक वर्षमा ३१५ महिलाको नाममा तथा ४७२ पुरुषको नाममा उद्योग दर्ता भएका छन्। दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक १३०, कृषिमूलक १८२, पर्यटनमूलक १२७, सूचनामूलक तीन र सेवामूलक ३३५ वटा रहेका छन्।
सूचना अधिकारी यादवका अनुसार मुलुकमा देखिएको आर्थिक मन्दी, रोजगारीका लागि युवाको बढ्दो विदेश पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु तथा पर्याप्त बजारको अभावजस्ता कारणले दर्ता भएका उद्योग तथा व्यवसाय क्रमशः विस्थापित हुँदै गएका छन्।
उद्योग तथा व्यवसाय सञ्चालन गर्नुभन्दा विदेश रोजगारीतर्फ आकर्षण बढ्दै गएपछि जनकपुरधामको मुख्य बजार क्षेत्रमा समेत २५ प्रतिशतभन्दा बढी सटर खाली रहेको व्यवसायीहरू बताउँछन्। लाखौँ रुपैयाँ लगानी गरेर उद्योग तथा व्यवसाय सञ्चालन गरे पनि अपेक्षाअनुसार आम्दानी हुन नसक्दा धेरै व्यवसायी व्यवसाय बन्द गर्न बाध्य भएका छन्।
जनकपुरका व्यापारीहरूका अनुसार कोरोना महामारीपछि देखिएको आर्थिक मन्दीको प्रभाव अझै पूर्ण रूपमा हट्न सकेको छैन। उपभोक्ताको क्रयशक्ति घट्नु, व्यापारमा अपेक्षित वृद्धि नहुनु र सञ्चालन खर्च बढ्दै जानुले साना तथा मझौला उद्योग–व्यवसाय सबैभन्दा बढी प्रभावित भएका छन्।



