जनकपुरधाम, ६ असोज । पेट्रोलियम पदार्थको आयातमा कमी आएपछि महोत्तरीस्थित जलेश्वर भन्सार कार्यालय भिठामोडको राजस्व संकलन प्रभावित भएको छ। आर्थिक वर्ष २०८२÷८३ मा कार्यालयले लक्ष्यको करिब आधा मात्रै राजस्व संकलन गर्न सकेको छ।
भन्सार विभाग, अर्थ मन्त्रालयले उक्त आर्थिक वर्षमा जलेश्वर भन्सार कार्यालयलाई ३ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। तर कार्यालयले १ अर्ब ६४ करोड ९६ लाख ५ हजार १८४ रुपैयाँ मात्रै राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ।
जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी भरत अधिकारीका अनुसार विगतमा यस नाकाबाट हुने पेट्रोलियम पदार्थको आयातबाट मात्रै कुल राजस्वको करिब ५० प्रतिशत हिस्सा संकलन हुने गरेको थियो। पेट्रोलियम पदार्थको आयात बन्द भएपछि त्यसको प्रत्यक्ष असर वार्षिक राजस्व संकलनमा परेको उहाँले बताउनुभयो।
‘विगतमा पेट्रोलियम पदार्थबाट मात्रै करिब ५० प्रतिशत राजस्व संकलन हुने भएकाले वार्षिक लक्ष्य भेट्न सहज हुन्थ्यो,’ सूचना अधिकारी अधिकारीले भन्नुभयो, ‘तर अहिले यस नाकाबाट पेट्रोलियम पदार्थको आयात बन्द भएपछि राजस्व लक्ष्य प्रभावित भएको हो।’
भिठामोड नाकाबाट भारतबाट हार्डवेयरका सामान, टायल्स, कोइला, जिप्सम, मसला तथा विभिन्न धातुजन्य सामग्री आयात हुने गरेका छन्। त्यस्तै नेपालबाट भारततर्फ रिफाइन खाने तेल, भेनियरलगायतका वस्तु निर्यात हुने गरेको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै पनि कार्यालयको राजस्व संकलन लक्ष्यअनुसार हुन सकेको छैन। साउन महिनामा १७ करोड ३६ लाख ८७ हजार ४२८ रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा करिब १४ करोड रुपैयाँ मात्रै संकलन भएको छ।
त्यस्तै भदौ महिनामा २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा करिब १६ करोड रुपैयाँ मात्रै संकलन भएको कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका अनुसार तेस्रो मुलुकबाट आयात हुने कतिपय वस्तुको इजाजत तथा आयातसम्बन्धी व्यवस्था नभएकाले पनि भिठामोड नाकाबाट त्यस्ता वस्तुको आयात हुन सकेको छैन। यसले समेत कार्यालयको राजस्व संकलन लक्ष्य प्रभावित भएको अधिकारीहरूको भनाइ छ।



