जनकपुरधाम, ६ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले जानकी मन्दिरलाई ‘राम-जानकी मन्दिर’ नामकरण गर्ने निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाउँदै चौधरीले जानकी मन्दिरको ऐतिहासिक तथा स्थापित नाम परिवर्तन गर्ने निर्णयप्रति आपत्ति जनाएका हुन् । उनले जानकी मन्दिर मिथिला सभ्यता, माता जानकीप्रतिको आस्था, विश्वास, इतिहास र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको धरोहर भएकाले यसको मौलिक नाम र पहिचान कायम राख्नुपर्ने बताएका छन् ।
चौधरीले जानकी मन्दिरलाई ‘राम-जानकी मन्दिर’ नामकरण गर्ने विषयलाई सामान्य प्रशासनिक निर्णयका रूपमा लिन नहुने उल्लेख गरेका छन् । धार्मिक तथा सांस्कृतिक धरोहरको नाम र पहिचानसँग जोडिएको विषय जनताको आस्था, इतिहास, संस्कृति र पहिचानसँग प्रत्यक्ष सम्बन्धित भएकाले निर्णयअघि सम्बन्धित धार्मिक समुदाय, स्थानीय जनसमुदाय, इतिहासविद्, संस्कृतिविद् तथा अन्य सरोकारवालासँग पर्याप्त छलफल र परामर्श आवश्यक रहेको उनको भनाइ छ ।
उनले नेपालको बहुधार्मिक तथा बहुसांस्कृतिक चरित्रलाई ध्यानमा राख्दै धार्मिक र सांस्कृतिक धरोहरसँग सम्बन्धित निर्णय गर्दा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन राज्यले संवेदनशीलता अपनाउनुपर्ने बताएका छन् ।
चौधरीले प्रधानमन्त्रीसमक्ष जानकी मन्दिरको नाम परिवर्तन गर्ने निर्णय फिर्ता लिन, ऐतिहासिक तथा स्थापित नाम ‘जानकी मन्दिर’ यथावत् कायम राख्न तथा यस्ता संवेदनशील विषयमा सम्बन्धित समुदाय, स्थानीय जनप्रतिनिधि, धार्मिक गुरु, इतिहासविद् र संस्कृतिविद्सँग अनिवार्य परामर्श गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
त्यसैगरी धार्मिक आस्था, मिथिला संस्कृति र ऐतिहासिक पहिचानसँग जोडिएका विषयलाई राजनीतिक विवादको माध्यम नबनाउन पनि उनले आग्रह गरेका छन् ।
‘जानकी मन्दिरको नाम केवल एउटा नाम नभई माता जानकीप्रतिको आस्था, मिथिलाको गौरव तथा साझा ऐतिहासिक–सांस्कृतिक पहिचानसँग जोडिएको विषय हो,’ चौधरीले पत्रमा भनेका छन् ।
उनले जानकी मन्दिरको मौलिक नाम र पहिचान संरक्षण गर्नु राज्य तथा सम्बन्धित सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको उल्लेख गरेका छन् ।



