जनकपुरधाम, ११ असोज । धनुषासहित मधेश प्रदेशका विभिन्न जिल्लामा शनिबार रातिदेखि निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्रमा घरभित्र पानी पस्नुका साथै साना तथा भित्री सडकहरू जलमग्न भएका छन्।
वर्षाका कारण धनुषाको कमला नगरपालिका र विदेह नगरपालिका बाढीको जोखिममा परेका छन्। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ।
यसैगरी, महोत्तरीको रातु नदीमा आएको बाढीका कारण नदी आसपासका क्षेत्रमा जनजीवन प्रभावित हुन थालेको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ११ र १२ गते मधेश प्रदेशसहित देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार हाल देशभरको अधिकांश भूभागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानमा समेत वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो मधेश प्रदेशका तराई भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ। मधेश प्रदेशमा अन्य केही प्रदेशको तुलनामा भारी वर्षाको सम्भावना भने कम रहेको विभागले जनाएको छ।
आज रातिसमेत मधेश प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी तराई क्षेत्रमा मौसममा हुनसक्ने आकस्मिक परिवर्तनलाई ध्यान दिँदै नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
वर्षाको प्रभाव स्थानअनुसार फरक पर्नसक्ने भएकाले स्थानीय मौसमको अवस्था र नदी तथा खोलानालाको जलस्तरबारे समेत जानकारी लिन आवश्यक रहेको विभागले जनाएको छ। पछिल्लो मौसम पूर्वानुमान, सूचना तथा चेतावनी नियमित रूपमा हेर्न विभागले आग्रह गरेको छ।



