जनकपुरधाम, १३ असोज । श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले महिलाको वास्तविक सशक्तीकरणका लागि राजनीतिक सहभागितासँगै सामाजिक र आर्थिक सशक्तीकरणमा पनि जोड दिनुपर्ने बताउनुभएको छ ।
जनकपुरधाममा सोमबारदेखि सुरु भएको महिला उद्यमीका लागि सार्वजनिक खरिदसम्बन्धी दुईदिने तालिमको उद्घाटन गर्दै मन्त्री थापाले उद्यम सञ्चालन गरे पनि बजारमा पहुँच नहुँदा धेरै महिला व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।
महिला उद्यमीलाई बजारसँग जोड्ने उद्देश्यले सञ्चालन भइरहेको ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने उहाँको भनाइ थियो। महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाका लागि बजार सुनिश्चित गर्न सके मात्रै उनीहरूलाई उद्यममा टिकाइराख्न सकिने मन्त्री थापाले बताउनुभयो।
उहाँले महिला सशक्तीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले महिला उद्यमीलाई बजार, सार्वजनिक खरिद तथा अन्य आर्थिक अवसरमा पहुँच दिलाउन स्थानीय सरकारले विशेष पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

तालिममा मधेश प्रदेशका १२ स्थानीय तहबाट दुई–दुई जना महिला उद्यमी तथा सम्बन्धित पालिकाका उद्यम विकास शाखाका प्रतिनिधिको सहभागिता रहेको छ। दुई दिनसम्म सञ्चालन हुने तालिममा महिला उद्यमीलाई सार्वजनिक खरिदको प्रक्रिया, सरकारी खरिद प्रणालीमा सहभागी हुने तरिका तथा त्यसमा उनीहरूको पहुँच र सहभागिता बढाउने विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
युरोपेली संघको सहयोगमा संयुक्त राष्ट्रसंघीय निकायहरूले मधेश प्रदेशका १२ स्थानीय तहमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। कार्यक्रममार्फत महिला उद्यमीको क्षमता विकास, बजारमा पहुँच विस्तार तथा आर्थिक अवसरसँग जोड्ने पहल भइरहेको आयोजकले जनाएको छ।



