जनकपुरधाम, १८ असोज । धनुषाको कमला नगरपालिका–७ हथमुण्डामा जग्गा विवादलाई लिएर बाबुछोरामाथि कुटपिट भएको भन्दै जाहेरी दर्ता भए पनि आरोपितहरूलाई प्रहरीले पक्राउ नगरेको पीडित पक्षले गुनासो गरेको छ।
पीडित शिवकुमार कौशलले आइतबार पत्रकार सम्मेलन गरी उनका छोरा चन्द्रिका कौशललाई स्थानीय नवीनकुमार महतो, रुपेशकुमार महतो र धर्मेन्द्रकुमार महतोले निर्घात कुटपिट गरेको आरोप लगाए । कुटपिटबाट चन्द्रिकाको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र उपचारपछि पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको उनले बताए ।
कौशलका अनुसार घटना भदौ १५ गते घटना भएको हो भने भदौ २५ गते इलाका प्रहरी कार्यालय सिंग्याही मडानमा जाहेरी दर्ता गरिएको थियो । तर, जाहेरी दर्ता भएको लामो समय बितिसक्दा पनि आरोपितहरू खुला रूपमा हिँडडुल गरिरहेको र प्रहरीले पक्राउ नगरेको उनको गुनासो छ । उनले प्रहरीकै मिलेमतोमा आरोपितहरूलाई पक्राउ नगरिएको आरोपसमेत लगाए ।
‘मैले आठ कट्ठाभन्दा बढी जग्गा बिक्री गरेको थिएँ। सोही जग्गाको नाप–नक्सा गर्न बोलाइएको बेला मेरो छोरा चन्द्रिका कौशलमाथि निर्घात कुटपिट भयो,’ शिवकुमारले भने, ‘गाउँमै उपचार सम्भव नभएपछि धनुषाको रमदैया रहेको जानकी मेडिकल कलेजमा उपचार गराइरहेका छौँ। उपचार गराउँदा पनि हालसम्म पूर्ण रूपमा निको भएको छैन ।’
उनका अनुसार लामो समयदेखि जग्गासम्बन्धी विवाद रहँदै आएको थियो । विवाद समाधानका लागि गाउँका भद्रभलाद्मी तथा स्थानीय प्रतिनिधिको रोहवरमा छलफल गर्ने सहमति भएको थियो। सोही क्रममा विवाद बढेपछि आफू र छोरामाथि कुटपिट भएको उनले बताए ।
कौशलले कुटपिटबाट आफूलाई हात, पाखुरा, टाउको र कानलगायतका भागमा चोट लागेको तथा छोरा चन्द्रिका गम्भीर घाइते भएको दाबी गरे ।
पीडित पक्षले घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गरी आफू र छोरालाई न्याय दिलाउन माग गरेको छ। घटनासम्बन्धी मेडिकल कागजात तथा अन्य प्रमाणसमेत प्रहरीमा पेस गरिएको उनीहरूको भनाइ छ।



