जनकपुरधाम, २३ असोज । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृषि र लैङ्गिक उत्तरदायी शासनलाई नीति, योजना तथा बजेटमा समेट्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशको आयोजनामा बिहीबार जनकपुरधाममा ‘महिला नेतृत्व, जलवायु उत्थानशीलता र लैङ्गिक उत्तरदायी शासनमार्फत कृषि–खाद्य प्रणाली रूपान्तरण’ विषयक प्रादेशिक नीति संवाद आयोजना गरिएको हो। मन्त्रालयका प्रदेश सचिव डा. सञ्जयकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा प्रमुख अतिथि थिए।

मन्त्री तत्माले ग्रामीण महिलालाई कृषि क्षेत्रका लाभग्राहीका रूपमा मात्र नभई किसान, उद्यमी, नेता र परिवर्तनका संवाहकका रूपमा हेर्नुपर्ने बताए। महिला किसानको भूमि, प्रविधि, वित्तीय स्रोत, बजार तथा निर्णय प्रक्रियामा पहुँच बढाउन र अवैतनिक हेरचाहको भार घटाउन आवश्यक रहेको उनको भनाइ थियो। उनले उद्यम कोष विकास गर्ने र किसान परिचयपत्र वितरण गर्ने तयारी भइरहेको जानकारी दिँदै किसानको सम्मान बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
संयुक्त राष्ट्रसङ्घीय महिला निकाय (यूएन वुमन) नेपालकी प्रतिनिधिले ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरणका लागि उत्पादनशील स्रोत तथा वित्तमा पहुँच, हेरचाहसम्बन्धी पूर्वाधार र सेवा तथा महिला नेतृत्व र सहभागितालाई प्राथमिकता दिनुपर्ने बताइन्।
उनका अनुसार महिला किसानको भूमि, कृषि सामग्री, प्रविधि, वित्तीय सेवा, ऋण तथा बजारमा पहुँच विस्तार गर्न आवश्यक छ। उत्पादनका साधन र वित्तीय स्रोतमा महिलाको पहुँच बढाउन सके कृषि तथा उद्यमबाट उनीहरूको आम्दानी वृद्धि गर्न सकिने उनले बताइन्।
संयुक्त राष्ट्रसङ्घीय महिला निकाय र खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा सञ्चालित संयुक्त ग्रामीण महिला आर्थिक सशक्तीकरण कार्यक्रम (जेपी–आरडब्लूईई) ले मधेश प्रदेशका सिरहा र सप्तरीका पाँच स्थानीय तहमा काम गरिरहेको छ। कार्यक्रमसँग हालसम्म पाँच हजार सात सयभन्दा बढी सहभागी जोडिएका छन्। दुई सय महिला किसान समूहमार्फत कृषि सामग्री, उद्यमशीलता, वित्तीय साक्षरता र नेतृत्व विकासमा सहयोग पुर्याइएको छ।
कार्यक्रमका अनुसार घरपरिवारको खाद्य असुरक्षा १३ प्रतिशतले घटेको, औसत वार्षिक कृषि आम्दानी ६३ प्रतिशतले बढेको र गैरकृषि आम्दानी १४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, ८१ प्रतिशत महिलाको जलवायु अनुकूल कृषि सामग्रीमा पहुँच पुगेको छ भने ४५ प्रतिशत महिलाले व्यवसाय सुरु वा विस्तार गरेका छन्।
कार्यक्रममा रोशन चिरागको लेखन तथा सुनील मल्लिकको सङ्गीतमा मिथिला नाट्यकला परिषद्का कलाकारले ‘नारी, माटो तथा उद्यमशीलता’ विषयक गीतिनाटक प्रस्तुत गरेका थिए। प्रस्तुतिमार्फत महिला, कृषि, माटो र उद्यमशीलताबीचको सम्बन्धलाई सांस्कृतिक माध्यमबाट उजागर गरिएको थियो।
संवादमा महिला किसानको नेतृत्व विकास, जलवायु अनुकूल कृषि, बजार पहुँच, श्रम बचत गर्ने प्रविधि तथा हेरचाहमैत्री सेवामा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, सफल अभ्यासलाई प्रदेश तथा स्थानीय सरकारका नीति, बजेट र कार्यक्रममा समेट्ने विषयमा पनि जोड दिइएको थियो।



