जनकपुरधाम । मिथिला प्राचीनकालदेखि नै कला, संस्कृति र परम्पराको धनी क्षेत्रका रूपमा परिचित छ। यहाँका मौलिक कलामध्ये केहीले व्यावसायिक रूप धारण गरेपछि निरन्तरता पाएका छन् भने व्यावसायिक विकास हुन नसकेका कतिपय कला र सीप क्रमशः लोप हुँदै गएका छन्। यस्तै लोपोन्मुख कलामध्ये सिकी घाँसबाट विभिन्न कलात्मक सामग्री निर्माण गर्ने परम्परा पनि एक हो।
मिथिलामा सिकी घाँसबाट बनाइने सामग्रीको विशेष महत्त्व छ। कुनै समय विवाह, पूजाआजा तथा अन्य शुभकार्यमा भाँडोपौती, ढक्की, पौती, पान राख्ने पनबट्टा र विभिन्न सजावटी सामग्री उपहारका रूपमा दिने चलन थियो। तर आधुनिक सामग्रीको बढ्दो प्रयोगसँगै यस्ता परम्परागत वस्तुको प्रचलन घट्दै गएको छ। विशेषगरी विवाहमा नयाँ दुलहीलाई मायाको चिनोस्वरूप सिकी घाँसबाट बनेका सामग्री दिने परम्परासमेत कमजोर बन्दै गएको छ।
मैथिली साहित्यका महाकवि विद्यापतिको काव्यमा समेत सिकी घाँसबाट निर्मित वस्तुहरूको प्रसङ्ग पाइने उल्लेख गरिन्छ। यसले मिथिलाको जनजीवनमा यस्ता सामग्रीको सांस्कृतिक महत्त्व र ऐतिहासिक सम्बन्ध रहेको सङ्केत गर्छ।
वैदिक परम्परामा पूजाआजा, विवाह तथा यज्ञजस्ता पवित्र कार्यमा कुशको प्रयोग हुँदै आएको पाइन्छ। मिथिला कृषि प्रधान क्षेत्र भएकाले यहाँका महिलाले गहुँ र धानका छ्वालीबाट समेत ढक्की, डलिया र अन्न राख्ने विभिन्न सामग्री बनाउँदै आएका छन्। सिकी घाँसबाट सामग्री निर्माण गर्नु पनि यही स्थानीय स्रोत, सीप र सृजनशीलतासँग जोडिएको परम्परा हो।
मिथिलाका युवतीले सिकी घाँसबाट सिक र मञ्जुसहित विभिन्न कलात्मक सामग्री बनाउने परम्परा छ। विवाहपछि माइतीबाट ससुरालीमा यस्ता सामग्री पठाउने चलनसमेत रहिआएको छ। दुलहीले आफ्नै हातले बनाएका सामग्रीले उनको कलात्मक क्षमता, धैर्य र सिर्जनशीलता झल्काउने भएकाले परिवार तथा समाजमा त्यसको विशेष सम्मान गरिन्थ्यो। यसरी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो सीप महिलाको सांस्कृतिक पहिचानसँग पनि जोडिएको छ।
भदौ–असोजतिर सिकी घाँस काटेर सुकाइन्छ। त्यसको टुप्पोमा रहेको फूल हटाई घाँसलाई सुरक्षित रूपमा राखिन्छ। वर्षभरि आवश्यकताअनुसार त्यसैबाट विभिन्न सामग्री तयार गरिन्छ। महिलाले आफ्ना आफन्त र नातेदारलाई कोसेलीका रूपमा समेत सिकीबाट बनेका वस्तु पठाउने गर्छन्। मौनी, पौती, खेलौना, मुपत र पथियाजस्ता सामग्री यसको उदाहरण हुन्।
सिकीका सामग्री बनाउन सामान्यतया माटोको सियो र काट्ने छुरी वा हँसिया प्रयोग गरिन्छ। सियोको सहायताले घाँसलाई आवश्यक आकारमा बुन्दै विभिन्न आकृति तयार पारिन्छ। परम्परागत रूपमा घरआँगनमा फुर्सदको समयमा महिलाले यस्ता सामग्री बनाउने गर्थे। पछि यही सीप घरेलु उपयोगका वस्तु निर्माण गर्ने माध्यम बन्यो। सिकी घाँसलाई विभिन्न रङले सजाउँदा सामग्री अझ आकर्षक देखिने भएकाले यसको प्रयोग घरायसी कामदेखि उपहार र सजावटसम्म फैलिएको थियो।
सिकी कलामा महिलाको सीप मात्र होइन, उनीहरूको कल्पनाशीलता, सौन्दर्यबोध र लोकजीवनप्रतिको दृष्टिकोण पनि अभिव्यक्त हुन्छ। त्यसैले यसलाई सामान्य हस्तकलाका रूपमा मात्र नभई मिथिलाको सामाजिक र सांस्कृतिक जीवन, परम्परागत विश्वास तथा स्थानीय जनजीवनको प्रतिनिधित्व गर्ने मौलिक सम्पदाका रूपमा लिन सकिन्छ।
समय परिवर्तनसँगै सिकी कलाले केही व्यावसायिक रूप लिन थालेको भए पनि अपेक्षित विकास हुन सकेको छैन। आधुनिक जीवनशैलीप्रति युवायुवतीको बढ्दो आकर्षण, परम्परागत सीपप्रतिको जानकारीको कमी र बजारको सीमितताले यो कला थप सङ्कटमा परेको छ। नयाँ पुस्तालाई यसको ज्ञान र सीप हस्तान्तरण गर्न नसकिएमा पुस्तौँदेखि जोगिँदै आएको यो सम्पदा हराउने जोखिम छ।
हाल सिकी घाँसबाट ढक्की, सुप, डलिया र अन्न राख्ने सामग्रीका अतिरिक्त कलमदान, कागज थिच्ने वस्तु, कलात्मक मूर्ति, भित्तामा झुन्ड्याउने सजावटी सामग्री तथा झोलासमेत बनाइन्छ। यस्ता सामग्रीमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढाउन सकिने सम्भावना छ। मौलिकता र उपयोगिता दुवै बोकेका यी सामग्रीलाई उचित बजार उपलब्ध गराउन सके सिकी कला संरक्षणसँगै स्थानीय महिलाको आम्दानी बढाउने माध्यमसमेत बन्न सक्छ।
यसका लागि स्थानीय सरकार, सम्बन्धित सङ्घसंस्था र सरोकारवालाले सीप विकास तालिम, उत्पादनको गुणस्तर सुधार, बजार व्यवस्थापन तथा प्रचारप्रसारमा ध्यान दिन आवश्यक छ। विद्यालय र समुदायस्तरमा नयाँ पुस्तालाई यस कलासँग परिचित गराउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। परम्परागत सीपलाई आधुनिक आवश्यकतासँग जोड्दै व्यावसायिक अवसर सिर्जना गर्न सके सिकी कला केवल विगतको सम्झनामा सीमित हुने छैन, बरु मिथिलाको सांस्कृतिक पहिचान र महिलाको आत्मनिर्भरताको आधार बन्न सक्नेछ।



