जनकपुरधाम, २५ जेठ। महोत्तरीको बर्दिवासमा आइतबार एक दिवसीय विपद् सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। वर्षायाममा मधेश प्रदेशमा बाढी, डुबान, पहिरोलगायत प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा मधेश प्रदेशका तीन जिल्लाका सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मधेश प्रदेश सरकारअन्तर्गत गृह, सञ्चार तथा कानून मन्त्रालयको विशेष प्राथमिकतामा उक्त कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले वर्षायाममा तराई–मधेशका धेरै भाग डुबानमा पर्ने, बाढी र पहिरोका कारण जनधनको क्षति हुने अवस्था प्रति सुरक्षा निकायहरूलाई अझ सतर्क रहन निर्देशन दिनुभएको छ।
मन्त्री लेखीले भन्नुभयो, ‘नेपालभर अहिले विपद्को जोखिमको समय हो। त्यसमा पनि मधेश प्रदेश बढी जोखिममा रहने भएकाले यहाँका सुरक्षा निकायहरू सदैव अलर्ट रहन जरुरी छ।’
उहाँले मधेश प्रदेशका धेरै वडा र पालिकाहरू वर्षायाममा बाढी–डुबान तथा सुख्खायाममा आगलागी जस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै यस किसिमका कार्यक्रमहरूलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा मधेश प्रदेश सरकारका प्रमुख प्रदेश सचिव मदन भुजेल, प्रदेश सचिव बिमल प्रसाद बराल, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी २ नं. बाहिनीका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल, साथै धनुषा, सर्लाही र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।



