क्यालिफोर्निया, अमेरिका २९ असार । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित फ्रिमोन्ट सगरमाथा लायन्स क्लबको २०२५–२०२६ कार्यकालका लागि सम्पन्न क्लब अधिवेशनबाट लक्ष्मी राउत चौधरी अध्यक्षमा निर्वाचित भएकी छन्।
पूर्व जोन चेयर लायन विजय कुमार चौधरीका अनुसार, फ्रिमोन्ट सगरमाथा लायन्स क्लबमार्फत महिला नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि, सीपमूलक तालिम तथा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास लिइएको छ।
नव निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष लक्ष्मी राउत चौधरी, प्रथम उपाध्यक्ष सुशिला खनाल दुलाल, द्वितीय उपाध्यक्ष कोपिला अधिकारी, सचिव अस्मिता पोखरेल र कोषाध्यक्ष अनिता कार्की रहेका छन्।
त्यसैगरी, क्लब मेम्बरशीप ड्राइभ समिति संयोजकमा पूर्व जोन चेयर विजय कुमार चौधरी, क्लब एडमिनिस्ट्रेटिभ संयोजकमा निवर्तमान जोन चेयर गोविन्द प्रसाद उपाध्याय, मार्केटिङ संयोजकमा लायन स्वरूप ज्ञवाली, सेवा संयोजकमा निवर्तमान अध्यक्ष लायन कोमल डोटेल पोखरेल, तथा क्लब डाइरेक्टरहरूमा लायन रमेश थापा र लायन शारदा रेग्मी चयन भएका छन्।
क्लबका सदस्यहरूले स्थापना काल सन् २०१४ देखि हालसम्म क्लबले पुर्याउँदै आएको सामाजिक तथा सांस्कृतिक योगदानको खुलेर प्रशंसा गरेका थिए।
नव निर्वाचित अध्यक्ष लक्ष्मी राउत चौधरीका अनुसार, फ्रिमोन्ट सगरमाथा लायन्स क्लब महिलामैत्री स्वरूपमा क्रियाशील रही घरेलु जिम्मेवारीमा सीमित महिलाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउन र उनीहरूमा रहेको सीप र क्षमतालाई पहिचान गर्दै नेतृत्व विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
निकट भविष्यमा क्लबले रक्तदान कार्यक्रम, आँखा शिविर, क्षमता अभिवृद्धि तालिम, सीप विकास र सामाजिक सचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
नव निर्वाचित पदाधिकारीहरूको शपथ तथा पद हस्तान्तरण कार्यक्रम आगामी अगस्ट ९ तारिख एक भव्य समारोहका बीच हुने जानकारी निवर्तमान अध्यक्ष लायन कोमल डोटेल पोखरेलले दिएकी छन्।

