जनकपुरधाम, २८ साउन । जनकपुरधाम वडा नम्बर ४ स्थित स्वर्गद्वारी नजिकको जग्गा गुठी संस्थान केन्द्रीय कार्यालयसँगको सम्झौता अनुसार प्राप्त भएपछि, सो जग्गासम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनपछि तारको घेरा हाल्ने क्रममा नेपाल बार एसोसिएशन जनकपुरका केही पदाधिकारी तथा अधिवक्ताहरूको समूहले पत्रकारमाथि गरेको सांघातिक आक्रमणबारे राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ।
आयोगको मधेस प्रदेश कार्यालयबाट मानव अधिकार अधिकृत किरण घिमिरे र राहुल कुमार ठाकुर तथा सूचना तथा प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा सहितको टोलीले नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यालयमा पुगेर घटनाबारे विस्तृत जानकारी लिएको हो। टोलीले घाइते पत्रकारहरू र सम्बन्धित व्यक्तिहरूसँग पनि प्रत्यक्ष संवाद गरी तथ्य सङ्कलन गरेको आयोगले जनाएको छ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अनुसार अधिवक्ताहरूको कुटपिटबाट महासंघका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिलकुमार निरालाको आँखामा चोटपटक लागी सुनिनुका साथै पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको छ। साथै, पत्रकार महिलामध्ये उपाध्यक्ष ज्योति झा र पत्रकार बिनीता यादवलाई लैङ्गिक संवेदनशीलता नमानि आपत्तिजनक स्थानमा हातपात गर्दै दुर्व्यवहार गरिएको आरोप महासंघले आयोगलाई जनाएको छ।
महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषी जो कोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन तथा संवैधानिक सर्वोच्चता र कानुनी राज्यको मर्यादा कायम गर्न आयोगलाई आवश्यक सिफारिस गर्न आग्रह गरेको छ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, महासंघ मधेस प्रदेश अध्यक्ष श्याम प्रसाद बन्जारा, सचिव हदिस खुददार, र धनुषा शाखा अध्यक्ष पुरण गुप्ता सहितका पत्रकारहरूको सहभागिता रहेको थियो। आयोगका कर्मचारीहरूले संकलित जानकारी र थप अनुसन्धानका आधारमा तत्काल रिपोर्ट पेश गर्ने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवको नेतृत्वमा आएको टोलीले पनि महासंघ मधेस प्रदेश कार्यालयमा पुगेर घटनाबारे जानकारी लिएको छ। यसअघि, कार्यवाहक अध्यक्ष यादव, आम सञ्चार प्राधिकरण मधेस प्रदेश अध्यक्ष जितेन्द्र खड्गा, र इन्सेक मधेस प्रदेश प्रमुख राजु पासवानको टोलीले प्रादेशिक अस्पताल जनकपुरधाममा घाइते पत्रकारहरूलाई भेटी घटनाबारे जानकारी लिएको थियो।

