जनकपुरधाम, १८ भदौ । आगामी दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी प्रतिवर्ष आयोजना हुँदै आएको दशैं बजारबारे आज जनकपुरधाममा छलफल गरिएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफलमा स्थानीय, व्यापारी, उद्योगी, सुरक्षा निकाय, पत्रकार तथा बुद्धिजीवीहरूको सहभागीता रहेको थियो ।
छलफलमा सहभागीहरूले दशैं बजारलाई स्थानीय उत्पादन तथा छठ–दीपावलीमा प्रयोग हुने सामग्रीहरू समेटेर सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनीहरूले जनकपुरधामको दशैं बजार विगतमा सस्तो र सुलभ बजारको रूपमा चर्चित रहे पनि समयानुकूल सुधार नहुँदा यसको महत्व दिनप्रतिदिन घट्दै गएको बताएका छन् ।
बजार व्यवस्थापनमा परिवर्तन आवश्यक भएकोमा जोड दिँदै सहभागीहरूले कृषि उत्पादन, पूजा सामग्री, छठ सामग्रीलगायतका वस्तुहरूको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे । संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न छलफलमा वक्ताहरूले पुरानै ढाँचामा बजार सञ्चालन गरेर यसको आकर्षण कायम नरहने औंल्याउँदै नयाँपन ल्याउनुपर्नेमा जोड दिएका थिए ।
छलफलमा सहभागीहरूले दशैं बजारको प्रचार–प्रसार राजधानीका स्तरमा गर्नुपर्ने, व्यवस्थापन सुधार्नुपर्ने र उपभोक्तालाई सहज वातावरण बनाउनुपर्नेमा समेत जोड दिए । संघले आपूर्ति व्यवस्थापन, गुणस्तर तथा मूल्य निर्धारण, प्रचार–प्रसार, सरसफाइ, शान्ति–सुरक्षा, प्राथमिक उपचार र अनुगमन–सुपरीक्षण समितिहरू गठन गर्ने जनाएको छ ।
दशैं, दीपावली तथा छठ पर्वमा सहुलियत दरमा गुणस्तरीय खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्यसहित यसवर्षको दशैं बजार सञ्चालन हुने जनाइएको छ ।

