जनकपुरधाम ११ असोज । मधेस प्रदेशमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ । सत्तारूढ दुई दलले समर्थन फिर्ता लिएपछि सिंह नेतृत्वको सरकार अल्पमतमा पुगेको हो । यसपछि नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच नयाँ सरकार गठनको सहमति जुटेको छ ।
जनमत पार्टीका नेता महेश यादवका अनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । उनका शब्दमा, “विभिन्न चरणको छलफलपछि कांग्रेसलाई नेतृत्व दिएर चार दल मिलेर नयाँ सरकार बनाउने निर्णय भएको छ।”
यसै आधारमा, कांग्रेस, एमाले, जनमत र लोसपाको गठबन्धनले सरकार गठन गर्न लागेका छन् । प्रदेश प्रमुख काठमाडौंमा रहेका कारण बहुमत सांसदहरूको हस्ताक्षरसहितको पत्र हालसम्म बुझाइएको छैन । तर, आजै वा भोलिसम्म प्रदेश प्रमुख जनकपुर फर्केपछि सरकार निर्माण प्रक्रिया अघि बढाइने तयारी जनाइएको छ ।
महेश यादवले मन्त्रालयहरूको बाँडफाँटबारे भने अझै टुंगो नलागेको बताए । उनका अनुसार, “मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको छ तर कुन दलले कति मन्त्रालय लिने भन्ने विषयमा अन्तिम सहमति भइसकेको छैन।”
जनमत पार्टीले असोज २८ गते आफ्नै पार्टीका मुख्यमन्त्री सतिस सिंहलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसपछि सिंहले नेतृत्व गरेको सरकारबाट कांग्रेसले गत बुधबार समर्थन फिर्ता लिएको थियो ।
मधेस प्रदेशमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक हुन्छ । नयाँ समीकरणअनुसार कांग्रेसका २२, एमालेका २४ (सभामुखसहित, एक निलम्बनबाहेक), जनमतका १३ र लोसपाका ८ (एक निलम्बनबाहेक) सांसद मिलेर आवश्यक बहुमत सजिलै पुग्ने देखिन्छ ।

