जनकपुरधाम । आज हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासका साथ उज्यालोको महान् पर्व—दीपावली मनाइरहेका छन् । दीपावलीलाई “उज्यालोको पर्व” मात्र होइन, सत्यको असत्यमाथि विजयको प्रतीक दिवसका रूपमा पनि मानिन्छ ।
पर्वको पूर्वसन्ध्यामा जनकपुरधामसहित देश–विदेशका हिन्दू बस्तीहरू दीप–प्रज्वलनले झिलिमिली बनेका छन् । आँगनदेखि धार्मिक स्थलसम्म दुलहीझैँ श्रृंगारिएको दृश्यले सम्पूर्ण वातावरणमा श्रद्धा, उत्सव र उज्यालो फैलिएको अनुभूति गराउँछ । दीपावलीका दुई रूप हुन्छन्—एक, घरभित्र लक्ष्मी–गणेशको पूजा आराधना गर्ने र दोस्रो, घरबाहिर रंगीन बत्ती, आतिशबाजी र उज्यालो फैलाउने ।
दीपावलीको आरम्भ र ऐतिहासिक पृष्ठभूमि
दीपावली पर्वको उल्लेख स्कन्दपुराण र अग्निपुराणमा पाइन्छ । जनविश्वासअनुसार त्रेतायुगपछि द्वापरयुगदेखि नै दीपावली मनाइँदै आएको हो । यो पर्व करिब पाँच हजार वर्ष पुरानो मानिन्छ । स्कन्दपुराणको कार्तिक महात्म्यमा भगवान कृष्णले “दीपहरू सूर्यका अंश हुन्” भनेर वर्णन गरेका छन् ।
पहिलो दीपदानको उल्लेख मद्र राज्य (आजको तक्षशिला) सँग जोडिएको छ । स्कन्दपुराणमा उल्लेख छ —
“मद्रज्ये ये दीपानानम् भुवि कुर्वन्ति मानवः” —
यसको अर्थ, सर्वप्रथम मद्र राज्यका जनताले दीपदान गरेका थिए । दैत्यराज बलीले शासनकालमा दीप बाल्ने परम्परा सुरु गरेको जनविश्वास छ ।
पुरातात्त्विक प्रमाण : पहिलो दियो
सिन्धु उपत्यका सभ्यताबाट करिब ५ हजार वर्ष पहिले माटोका बत्ती प्रयोग भएको प्रमाण भेटिएको छ । मेहरगढमा गरिएको उत्खननमा फेला परेका ती बत्तीहरू कार्बन डेटिङबाट प्रमाणित गरिएका हुन् । यसबाहेक भारतको सांगलामा मौर्यकालीन (२५ सय वर्षअघिका) बत्तीहरू पनि भेटिएका छन् ।
यसैगरी, कौटिल्यको अर्थशास्त्र (करिब २३९६ वर्षअघिको) मा तेजनचूर्ण प्रयोग गरी आतिशबाजीको प्रारम्भिक स्वरूप देखिन्छ । युद्धमा शत्रुलाई विचलित गर्न यसको प्रयोग गरिएको उल्लेख पाइन्छ ।
माता लक्ष्मी र लक्ष्मीपूजा
दीपावलीको दिनलाई माता लक्ष्मीको जन्म दिवस पनि मानिन्छ । समुन्द्र मन्थनको क्रममा उत्पन्न भएकी लक्ष्मी धनकी अधिष्ठात्री देवी हुन् । भगवान विष्णुले वामन अवतारका रूपमा बलीराजाबाट लक्ष्मीलाई मुक्त गराएका थिए ।
यस दिन बिहानै गाईको पूजा गरिन्छ, किनभने गाईलाई लक्ष्मी तथा आमाको रूप मानिन्छ । गाईको दूध, मूत्र र गोबरलाई शुद्धता तथा समृद्धिको प्रतीकका रूपमा पूजिन्छ । वैदिककालदेखि गाई सम्पन्नताको प्रतीक रहेको जनविश्वास छ । घरमा दीप प्रज्वलन गरी लक्ष्मीको आराधना गर्दा सुख, शान्ति र समृद्धि आउँछ भन्ने धार्मिक मान्यता रहेको छ ।
भगवान रामको अयोध्या आगमन
दीपावलीलाई रामको अयोध्या फर्किएको दिनको रूपमा पनि मनाइन्छ । १४ वर्षको वनवास र रावणमाथि विजयपछि भगवान राम माता सीता र लक्ष्मणसहित अयोध्या फर्किए । अयोध्यावासीहरूले भगवान रामको स्वागतमा सम्पूर्ण राज्यभर दियो बालेर उत्सव मनाए ।
‘दीप’ (बत्ती) र ‘आवली’ (पंक्ति) शब्द मिलेर बनेको ‘दीपावली’ त्यसै समयदेखि पंक्तिवद्ध रूपमा दियो बालेर मनाइने पर्वको रूपमा स्थापित भयो ।
नरकासुर वध र विजयको उत्सव
भगवान श्रीकृष्णले दानवराज नरकासुरको वध गरी १६ हजार नारीलाई मुक्त गराएका थिए । नरकासुरमाथिको विजय उत्सव दुई दिनसम्म चलेको थियो, जसमा दीपावली मुख्य दिन थियो । त्यस दिनलाई आज पनि ‘नरक चतुर्दशी’ भनेर मनाइन्छ ।
पाण्डवहरूको हस्तिनापुर फर्किने दिन
महाभारतअनुसार वनवासपछि पाण्डवहरू कार्तिक अमावस्याको दिन हस्तिनापुर फर्किए । जनताले पाण्डवको स्वागतमा राज्यभर दीप प्रज्वलन गरे, र त्यही दिनलाई स्मरण गर्दै आज पनि दीपावली मनाइन्छ ।
यमपञ्चक र नेपाली परम्परा
नेपालमा दीपावलीलाई यमपञ्चक पनि भनिन्छ । बडादशैंपछि मनाइने दोस्रो ठूलो पर्वका रूपमा यसको विशेष स्थान छ । पाँच दिनसम्म घर आँगन सफा राखेर दीप प्रज्वलन गर्ने र पूजा आराधना गर्ने घरमा मृत्यु टर्छ भन्ने जनविश्वास छ ।
यस अवधिमा तास, पिङ, कौडा लगायतका खेल तथा सामाजिक रमझमले वातावरण उत्सवमय हुन्छ ।
उज्यालो, श्रद्धा र साझा सांस्कृतिक धरोहर
दीपावली केवल उज्यालो र आतिशबाजीको पर्व मात्र होइन, इतिहास, संस्कृति, धार्मिक आस्था र साझा भावना बोकेको उत्सव हो । सत्यको विजय, असत्यको पराजय, समृद्धिको प्रार्थना र मानवीय एकताको सन्देश दिने यस पर्वले समाजलाई उज्यालो र आशावादी बनाउँछ ।

