जनकपुरधाम, १७ मंसिर । धनुषाका एक युवक १६ वर्षदेखि निरन्तर नाखुन पोस्दै विश्वको गिनिज बुक अफ वल्र्ड रिकर्डमा नाम लेखाउने लक्ष्यसहित अनौठो अभियानमा जुटिरहेका छन् । दैनिक जीवनमा धेरै कठिनाइ व्यहोर्नुपरे पनि उनी आफ्नो लक्ष्यप्रति दृढ छन् र नाखुनलाई नै आत्मगौरवको रूपमा लिन थालेका छन् ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकटपट्टीका करिब ३० वर्षका दिनेश सिंह यादव सानै उमेरदेखि नाखुन बढाउने अभ्यासमा छन् । उनी आफ्नो लामो नाखुन देखाउँदै भन्छन्, “विगत १६ वर्षदेखि नाखुन पोस्दै आएको छु । सम्हाल्न ठूलो मेहनत लाग्छ तर एक दिन मेरो नाम गिनिज बुकमा लेखिन्छ भन्ने विश्वास छ ।”
यादवका अनुसार हाल उनका नाखुन एक फिटभन्दा बढी लामो भइसकेका छन् । उनले विभिन्न स्रोतबाट जानकारी लिएअनुसार यति लामो नाखुन हालसम्म कम्तीमा २० देशमा पनि नदेखिएको दाबी गर्छन् । उनी भन्छन्, “अमेरिकामा एकजनाको सात फिट नाखुन भएको र उसका नाखुनकै कारण नाम गिनिज बुकमा दर्ता भएको सुनेको छु । म पनि यही लक्ष्यका साथ अघि बढिरहेको छु ।”
लामो नाखुनका कारण दिनचर्या सहज नभए पनि उनले यसलाई आफ्नो जीवनको विशेष उद्देश्य बनाइरहेका छन् । एक हात पूर्ण रूपमा प्रयोग गर्न नसक्दा दैनिक काममा समय बढी लाग्ने र अनेक असहजता आउने उनी बताउँछन् ।
“आफ्नै छाया जस्तो नाखुनलाई बोकेर हिँड्नु सजिलो छैन । तर सबैभन्दा दुःखद कुरा त कसैले मेरो यस प्रयासलाई गम्भीरतापूर्वक नलिनु हो,” यादव भन्छन्, “राम्रो काम गरिरहँदा उत्साह दिने कोही भएन । सम्मान त झन् कुनै निकायबाट पाएको छैन ।”
पेशाले शिक्षक रहेका यादवले कक्षामा समेत एक हातले लेखन–पठन गर्ने गरेको बताउँछन् । उनले स्थानीय तहदेखि प्रदेश सरकारसम्म आफ्नो नाखुन र लक्ष्यको जानकारी दिइसकेका छन् । गिनिज बुकमा आवेदन प्रक्रिया अघि बढाउन विभिन्न माध्यमबाट पहल गरिरहे पनि राज्यका निकायहरू बेखबर र उदासीन रहनु दुःखद भएको उनको गुनासो छ ।
उनी भन्छन्, “गिनिज बुकमा मेरो नाम दर्ता भएमा मेरो मात्र होइन, यो समाज र देशको पनि नाम चम्किन्छ । तर अहिलेसम्म संस्थागत सहयोग पाएको छैन ।”
यादवले नाखुन बढाउने आफ्नो अभियान जारी राख्ने दृढता व्यक्त गर्दै समयमा सहकार्य र प्रोत्साहन मिलेको खण्डमा विश्वस्तरमै अनौठो पात्रका रूपमा पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।



