जनकपुरधाम, २२ मंसिर । जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी हुने भएको छ । यहि मंसिर २४ गते महेन्द्र नारायण निधि मिथिला केन्द्रमा गोष्ठी आयोजना गरिने जानकारी दिइएको छ ।
सोमबार नेपाल बार एसोसिएशन जनकपुरधामका अध्यक्ष विमल कुमार मिश्रले पत्रकार सम्मेलन गरी गोष्ठीका बारेमा विस्तृत जानकारी गराएका छन् । अध्यक्ष मिश्रका अनुसार देशभरका वरिष्ठ अधिवक्ता, अधिवक्ता, पूर्व महान्यायाधिवक्ता तथा कानुन व्यवसायी गरी करिब एक हजार सहभागी हुनेछन् ।
गोष्ठीको उद्घाटन नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले गर्ने जानकारी दिइएको छ । कार्यक्रममा ३२ जनालाई सम्मान गरिनेछ, जसमा १६ जना न्यायाधीश र १६ जना अधिवक्तालाई सम्मानपत्र प्रदान गरिने अध्यक्ष मिश्रले बताए ।
त्यसैगरी मानव अधिकारसम्बन्धी कार्यक्रममा ‘सीता मैनाली पुरस्कार’ एक जना कानुन व्यवसायीलाई प्रदान गरिने छ, जसअन्तर्गत नगद २५ हजार रुपैयाँ र सम्मानपत्र रहनेछ ।
अध्यक्ष मिश्रका अनुसार यो गोष्ठी पछाडि परिरहेको न्यायिक पहुँचलाई मजबुत बनाउन महत्वपूर्ण अवसर हुनेछ । “नागरिकहरूले समयमै, सहज रूपमा र न्यायपालिकासम्म बराबरी पहुँच पाउनुपर्छ । त्यसका लागि कानुनी समुदाय, सरोकारवाला निकाय तथा नागरिकबीच समन्वय अपरिहार्य छ,” मिश्रले भने ।
उहाँका अनुसार मुद्दा दर्ता प्रक्रियामा ढिलाइ, नागरिकमैत्री सेवा अभाव, कानुनी सचेतनाको कमी तथा स्थानीय तह र अदालतबीच समन्वयको अभाव—यी विषयहरू गोष्ठीका मुख्य एजेण्डा रहनेछन् । विशेष गरी महिला, गरिब तथा सीमान्तकृत समुदायलाई न्यायिक प्रक्रियामा सहज पहुँच कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ ।
अध्यक्ष मिश्रले यातायात, सुरक्षा तथा अतिथिहरूका आवश्यक तयारीका लागि नगरवासीलाई सहयोग र समन्वयका लागि अपील गरेका छन् । “मानव अधिकार दिवसले हाम्रो प्रणालीका कमजोरी र सुधारका अवसरलाई उजागर गर्छ । यसैले जनकपुरलाई केन्द्र बनाएर दीर्घकालीन प्रभाव पार्ने छलफल एवं प्रतिवद्धता सार्वजनिक गर्न लागेका छौं,” उनले भने ।
नेपाल बार एसोसिएशन जनकपुरधामले सबै सरोकारवाला, नागरिक तथा सञ्चारकर्मीलाई कार्यक्रममा सहभागी भई न्यायिक सुशासन र मानव अधिकारका मुद्दालाई सशक्त बनाउन सहयोग गर्न आग्रह गरेको छ ।



