जनकपुरधाम, २२ मंसिर । आसन्न आम निर्वाचनको तयारी तीव्र बन्दै गर्दा नेपाली काँग्रेसले धनुषा–३ का लागि नेतृत्वकर्ता विमलेन्द्र निधिलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ । सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी चलिरहेको बेला काँग्रेसले निधिलाई प्रमुख दाबेदारका रूपमा अगाडि सारेपछि क्षेत्र नम्बर ३ को चुनावी समीकरण स्पष्ट बन्दै गएको छ ।
धनुषा क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष धिरेन्द्र निधिको अध्यक्षतामा बसेको विस्तारित बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा विमलेन्द्र निधिको नाम एकल रूपमा पारित गरेको हो । नेपाली काँग्रेस केन्द्रीय समितिबाट आएको परिपत्रअनुसार प्रत्यक्ष तर्फ अधिकतम तीन नाम सिफारिस गर्न भनिए पनि धनुषा ३ ले निधिलाई नै एकमात्र विकल्पका रूपमा अघि बढाएको क्षेत्रीय अध्यक्ष निधिले जानकारी दिएका छन ।
बैठकमा उपस्थित वरिष्ठ नेता तथा कार्यकर्ताहरू स्मृति नारायण चौधरी, रामसरोज यादव लगायत अधिकांशले निधिको नेतृत्वमा क्षेत्र जित्न सकिने विश्वास व्यक्त गर्दै उहाँको नाममा समर्थन जनाएका थिए । सर्वसम्मत समर्थनपछि निधि आगामी निर्वाचनका लागि पार्टीको आधिकारिक सिफारिस प्राप्त गर्ने सम्भावना अत्यन्त प्रबल देखिएको छ ।
यद्यपि प्रतिनिधि सभा निर्वाचन निर्धारित समयमा हुने नहुनेबारे देशभर शंका–उपशंका भइरहेका छन् । नेपाली काँग्रेसका केही निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। तर अर्कोतर्फ काँग्रेस संगठन भने देशभर चुनावी तयारी तीव्र बनाउँदै उम्मेदवार छनोटको प्रक्रियालाई सुदृढ रूपमा अघि बढाइरहेको देखिन्छ।
धनुषा–३ मा निधिको सिफारिसले आगामी निर्वाचनमा काँग्रेसको दिशा, क्षेत्रीय शक्ति–सन्तुलन र चुनावी रणनीतिमा महत्वपूर्ण प्रभाव पर्ने निश्चित छ।



