जनकपुरधाम, १० फागुन । मधेशको ‘लाइफलाइन’ मानिने पूर्व-पश्चिम हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाको सीमास्थित कमला नदीमा निर्माणाधीन पुल प्रत्येक निर्वाचनमा दल र तिनका उम्मेदवारहरूको प्रमुख चुनावी एजेन्डा बन्दै आएको छ । तर करिब डेढ दशक बितिसक्दा पनि कमलामा पुल निर्माण सम्पन्न हुन सकेको छैन ।
हरेक चुनावमा यस पुलको नाममा मत माग्ने नेता तथा उम्मेदवारहरूको लामो सूची तयार हुन्छ । पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला २०७८ साल असार १७ गते आएको सामान्य बाढीले सिरहातर्फको दोस्रो पाया भत्कायो । त्यसपछि २०८९ साल कात्तिक ३ गते आएको बाढीले धनुषातर्फको तेस्रो पाया समेत क्षति पु¥यायो ।
डिजाइन त्रुटि, निर्माण कम्पनीको लापरबाही लगायतका कारण सामान्य बाढीमै पुल भत्किएपछि हालसम्म पुनःनिर्माण सम्पन्न हुन सकेको छैन । फलस्वरूप धनुषाबाट सिरहा तथा सिरहाबाट धनुषा ओहोर(दोहोर गर्ने नागरिकहरू निरन्तर सास्ती भोग्न बाध्य छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधामबाट करिब ३१ किलोमिटर पूर्वमा अवस्थित उक्त पुल भत्किएपछि सिरहा बजार पुग्न ढल्केवर, चौहर्वा र मिर्चौ हुँदै करिब ९० किलोमिटर लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
२०७८ जेठदेखि पुल भत्किएपछि विभिन्न दलका नेता र प्रधानमन्त्रीसमेत निरीक्षणका लागि आउने क्रम चलेको स्थानीयवासी बताउँछन् । सिरहाका स्थानीय देवकुमार यादव भन्छन्, “यो पुल मन्त्री, प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरूका लागि मत माग्ने स्थायी एजेन्डा बनिसकेको छ ।”
उनी थप्छन्, “१५ वर्षमा जति सरकार बने, सबै प्रधानमन्त्री र मन्त्रीहरूले एउटै आश्वासन दिए(अब चाँडै पुल बन्छ । तर ती आश्वासन खोक्रो भाषणमै सीमित रहे ।”
पूर्व(पश्चिम हुलाकी राजमार्ग अन्तर्गत धनुषा, सिरहा र सप्तरीका नागरिकहरू पुल अभावका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट २४ जना उम्मेदवार मैदानमा छन् । अघिल्ला निर्वाचनहरूमा पनि उम्मेदवारहरूले आफू विजयी भए कमला पुल निर्माण गर्ने आश्वासन दिएका थिए ।
सिरहाको भलुवाहीका समाजसेवी चन्द्रदेव कामती आक्रोश व्यक्त गर्दै भन्छन्, “अब त कमला पुल चुनावी एजेन्डामै सीमित भएको छ । यसपटक पनि ‘पुल बनाइदिन्छु’ भन्दै मत माग्न घरदैलोमा आइरहेका छन् ।”
४६९.२ मिटर लामो उक्त पुलको ठेक्का प्रक्रियामा पनि पटक-पटक परिवर्तन भएको छ । २४ करोड ९० लाख रुपैयाँमा ठेक्का लागेको पुल निर्माणका लागि हालसम्म २३ करोड १९ लाख रुपैयाँ खर्च भइसकेको हुलाकी राजमार्ग निर्देशनालय, जनकपुरले जनाएको छ ।
दल तथा तिनका उम्मेदवारहरूले पटक-पटक आश्वासन दिएर मतदातालाई निराश बनाएको गुनासो स्थानीयवासीको छ । अब भने मतदाताहरू सचेत हुने समय आएको उनीहरूको भनाइ छ ।
कमला पुल मधेशको विकास र आवागमनको मेरुदण्ड बन्नुपर्ने थियो । तर यो पुल विकासको प्रतीकभन्दा बढी राजनीतिक भाषण र चुनावी नाराको साधन बन्दै गएको छ । अब आवश्यक छ(एजेन्डा होइन, परिणाम ।

