जनकपुरधाम, ८ भदौ । मधेश प्रदेशमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। समयमै वर्षा हुनुका साथै मलखादसमेत उपलब्ध भएकाले यस वर्ष धान रोपाइँ छिटो सुरु भएको कृषि ज्ञान केन्द्र धनुषाले जनाएको छ।
कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका अनुसार मधेश प्रदेशमा कुल ५ लाख ५२ हजार ७ सय ४५ हेक्टर खेतीयोग्य जग्गा रहेकामा ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। त्यसमध्ये हालसम्म ३ लाख ७३ हजार ६ सय ९३ दशमलव २९ हेक्टर अर्थात् ९८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख प्रदीपकुमार यादवका अनुसार यस वर्ष समयमै पानी परेको र मलखाद पनि समयमै उपलब्ध भएकाले किसानले छिटो धान रोप्न सकेका हुन्।
जिल्लागत रूपमा हेर्दा धनुषामा ४३ हजार ७ सय हेक्टर धानखेती हुने क्षेत्रफलमध्ये ९५ प्रतिशत अर्थात् ४१ हजार ५ सय १५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। सप्तरीमा ६८ हजार हेक्टरमध्ये ९५ प्रतिशत अर्थात् ६४ हजार ६ सय हेक्टरमा रोपाइँ सकिएको छ। सिरहामा भने ४५ हजार हेक्टर क्षेत्रफलमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यस्तै, महोत्तरीमा ४० हजार हेक्टरमध्ये ३४ हजार ७ सय २१ हेक्टर, सर्लाहीमा ४२ हजार ६ सय ९५ हेक्टरमध्ये ४२ हजार २ सय ६८ हेक्टर र रौतहटमा ३८ हजार ५ सय हेक्टरमध्ये ३३ हजार ७ सय ३० हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ। बारामा ४५ हजार १ सय हेक्टर धानखेती हुने क्षेत्रफलमध्ये ४५ हजार हेक्टरमा रोपाइँ सकिएको छ भने पर्सामा ५३ हजार ९ सय ३८ हेक्टरमध्ये ५२ हजार ८ सय ५९ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।
मधेश प्रदेशको मुख्य बालीका रूपमा रहेको धानखेतीमा करिब ९० प्रतिशत किसान संलग्न छन्। धान उत्पादन राम्रो भए पनि प्रदेशको वर्षभरको माग धान्न पर्याप्त नहुने भएकाले भारतबाट ठूलो परिमाणमा धान आयात गर्नुपर्ने अवस्था रहेको छ।
आर्थिक वर्ष २०८२÷८३ मा भारतबाट भिठामोड नाका हुँदै ८५ करोड ६७ लाख ६३ हजार २ सय ६० रुपैयाँ मूल्य बराबरको २ करोड ६७ लाख ७३ हजार ८ सय ५५ किलो धान नेपाल भित्रिएको तथ्यांक छ।
मधेशमा धान रोपाइँ लगभग सम्पन्न भइसके पनि उत्पादनले वर्षभरको माग धान्न नसक्दा भारतबाट धान आयात गर्नुपर्ने अवस्थाले प्रदेशको कृषि अर्थतन्त्रमा उत्पादन र बजारबीचको अन्तरलाई देखाएको छ।



