जनकपुरधाम, ५ असोज । बैंक खातामा रहेको रकम आफूलाई जानकारी नै नदिई विभिन्न मितिमा निकासी भएको भन्दै सेवाग्राही रजनी कर्णले सम्बन्धित निकायमा उजुरी दिँदै छानबिन तथा आवश्यक कारबाहीको माग गर्नुभएको छ ।
कर्णका अनुसार आफूले कुनै कारोबार नगरेको अवस्थामा आफ्नो बैंक खाताबाट रकम निकासी भएको पाइएको हो । खातामा रहेको रकम घटेको देखिएपछि कारोबार विवरण हेर्दा आफूले नगरेका कारोबारबाट रकम निकासी भएको जानकारी पाएको उहाँको दाबी छ ।
कर्णले दिएको निवेदनमा नेविल बैंक पिडारी चौक शाखाबाट हाइजेक गरी प्राइम कमर्सियल बैंकमार्फत निकासा गरिएको विवरण उल्लेख गरिएको छ । आफूले नगरेको कारोबारबाट खाताको रकम घटेको पाइएपछि बैंक तथा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको भन्दै उहाँले रकम फिर्ता गराउन तथा घटनाको छानबिन गर्न माग गर्नुभएको छ ।
उहाँले आफ्नो खाताबाट कुन माध्यमबाट, कहिले र कसरी रकम निकासी भएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान गरी संलग्न व्यक्तिको पहिचान तथा आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।
निवेदनसँगै बैंक खाताको कारोबार विवरण तथा रकम निकासीसँग सम्बन्धित कागजातसमेत संलग्न गरिएको छ । घटनाबारे बैंक र सम्बन्धित सुरक्षा निकायबाट हुने अनुसन्धानपछि मात्र रकम निकासीको वास्तविक कारण, माध्यम तथा संलग्नताको विषय यकिन हुने देखिन्छ ।



