जनकपुरधाम, १३ असोज । मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले स्वदेशी उत्पादनको प्रयोग बढाउँदै विदेशी खाद्य वस्तुमाथिको निर्भरता घटाउन आग्रह गरेका छन्।
जनकपुरधाममा मंगलबार डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा जनकपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको व्यवसायी र मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख यादवले स्वदेशमै उत्पादित खाद्य वस्तु तथा अन्य सामग्रीको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।
उनले विदेशबाट प्याकेजिङ गरी आयात हुने खाद्य वस्तुको गुणस्तर र सुरक्षाबारे पर्याप्त जाँच हुन नसक्ने भन्दै त्यस्ता वस्तुको प्रयोगले स्वास्थ्यमा असर पर्न सक्ने बताए।
‘विदेशबाट प्याक भएर आउने खाद्य वस्तुको गुणस्तरसमेत पर्याप्त रूपमा जाँच हुँदैन। लामो समयसम्म भण्डारण गरिएका वस्तुले स्वास्थ्यमा असर पार्न सक्छन्,’ उनले भने, ‘त्यसैले सकेसम्म आफ्नै देशमा उत्पादन भएका खाद्य वस्तु तथा अन्य सामग्रीको प्रयोग बढाउनुपर्छ।’
सभामुख यादवले राज्यका तर्फबाट उद्योगी–व्यवसायीले सम्मान र प्रोत्साहन नपाएसम्म मुलुकमा आर्थिक समृद्धि हासिल गर्न कठिन हुने बताए। उद्योग तथा व्यवसाय क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले व्यवसायीले तिर्ने राजस्वबाट राज्य सञ्चालन तथा विकास निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए।
अनुगमन आवश्यक भए पनि त्यसका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने वा निरुत्साहित गर्ने कार्य उचित नभएको उनको भनाइ थियो। ‘अनुगमनलाई बलियो बनाउनुपर्छ, त्यसमा दुईमत छैन। तर अनुगमन गुणस्तरीय र उद्देश्यपूर्ण हुनुपर्छ,’ उनले भने, ‘म्याद गुज्रिएका सामान बिक्री भइरहेको छ कि छैन, खाद्य वस्तुमा मिसावट छ कि छैन भन्ने विषयमा अनुगमन केन्द्रित हुनुपर्छ, व्यापारीलाई दुःख दिने उद्देश्यले होइन।’
व्यवसायीले कानुनविपरीत काम गरेको प्रमाणित भए आवश्यक कारबाही गर्नुपर्ने बताउँदै सभामुख यादवले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग खेलबाड गर्ने व्यवसायीमाथि कडाइ गर्नुपर्ने धारणा राखे। ‘उद्योगी–व्यवसायी गलत छ भने उसको पसल बन्द गर्नेसम्मको कारबाही गर्नुपर्छ,’ उनले भने।
उनले विदेशी उत्पादनको बढ्दो निर्भरता तथा अनुगमनका क्रममा देखिने अव्यवस्थित प्रक्रियाका कारण व्यवसायीमा असन्तुष्टि बढेको पनि बताए। स्वदेशी उत्पादनको प्रवद्र्धन, व्यवसायमैत्री वातावरण र प्रभावकारी अनुगमनबीच सन्तुलन कायम गर्नुपर्नेमा उनले जोड दिए।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासमानले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए।
व्यवसायी र मानव अधिकारसम्बन्धी अन्तरक्रियामा मिडिया काउन्सिल मधेश प्रदेशका पूर्वअध्यक्ष कैलास दास, औषधि व्यवसायी संघका अध्यक्ष प्रमोद अग्रवाल, उपभोक्ता हकहित संरक्षण मञ्चकी अध्यक्ष सुभद्रा आले, धिरज साहलगायतले व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तथा मानव अधिकारसँग सम्बन्धित विषयमा धारणा राखेका थिए।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव जीवन न्यौपानेले व्यवसाय र मानव अधिकारका विभिन्न पक्षबारे डिजिटल प्रस्तुति दिएका थिए।



