जनकपुरधाम, २४ असोज । दसैं पर्वलाई लक्षित गरी जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुँदै आएको दशैं बजार शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ । घटस्थापनादेखि विजयादशमीसम्म सञ्चालन हुने बजार आइतबारदेखि विधिवत् रूपमा सुरु हुने आयोजकले जनाएको छ। बजारमा विभिन्न सामग्रीका १५० वटा स्टल राखिएका छन् ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुरले दशैं बजार जनकपुरधामको पहिचान र गौरवसँग जोडिएको बताए। उनले बजारलाई थप व्यवस्थित बनाउन राज्यका सबै निकाय गम्भीर हुनुपर्नेमा जोड दिए।
ठाकुरले विजयादशमीको अवसरमा नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रबाट पर्यटक जनकपुरधाम आउने गरेको उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक पर्यटनको विकाससँगै स्थानीय व्यापार प्रवद्र्धनमा पनि ध्यान दिनुपर्ने बताए। पर्यटन र व्यवसायलाई सँगसँगै अघि बढाउन सके मात्रै जनकपुरधामवासीको आर्थिक समृद्धिमा योगदान पुग्ने उनको भनाइ थियो। उनले जनकपुरधामको विजयादशमीलाई थप भव्य बनाउन नागरिक समाजको भूमिका पनि महत्त्वपूर्ण रहेको बताए।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले दशैं बजारमा उपभोक्तालाई सहुलियत दरमा सामान उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरे। उनले सम्भव भएसम्म बजार मूल्यभन्दा सस्तोमा वस्तु तथा सेवा उपलब्ध गराएर उपभोक्तालाई राहत दिनुपर्ने बताए।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले चाडपर्वलाई लक्षित गरी धनुषा जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाइएको जानकारी दिए। दशैं बजारसहित जिल्लाका विभिन्न स्थानमा नियमित पोसाक र सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै उनले विगतको तुलनामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको बताए।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह हिराले दशैं बजारको प्रवद्र्धनमा स्थानीय तथा प्रदेश सरकारले अपेक्षित लगानी नगरेको गुनासो गरे। पर्यटन व्यवसायलाई प्रोत्साहन गर्नु, पर्यटकीय गतिविधि बढाउनु र स्थानीय अर्थतन्त्रलाई सबल बनाउनु सरकारको दायित्व भएको उनको भनाइ थियो।
उनले भारतसँगको सीमावर्ती क्षेत्रमा पर्यटकको आवागमनका क्रममा विभिन्न समस्या हुने गरेको उल्लेख गर्दै सहज आवागमनको व्यवस्था मिलाउन सुरक्षा निकाय तथा स्थानीय सरकारसँग आग्रह गरे। पर्यटकको आवागमन सहज बनाउनुका साथै व्यापारमैत्री वातावरण निर्माण गर्न सके जनकपुरधामको धार्मिक पर्यटन र स्थानीय व्यवसाय दुवै लाभान्वित हुने उनले बताए।
कार्यक्रममा संघका पूर्वअध्यक्ष बजरंगप्रसाद साह, इन्जिनियर प्रकाशचन्द्र साहलगायतले पनि दशैं बजारको व्यवस्थापन, व्यापार प्रवद्र्धन र पर्यटन विकासका विषयमा धारणा राखेका थिए।
यसैबीच, गत भदौ १० गते रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सङ्कलन अभियानमा सहयोग गर्ने नौ जनालाई जनकपुर उद्योग वाणिज्य संघले सम्मानपत्र प्रदान गरेको छ। सम्मानित हुनेमा सन्तोष गोयन्का, विश्वनाथ साह, सीतादेवी मण्डल, मनोजकुमार साह, सुशीललाल दास, प्रकाश साह, मीनादेवी, मुन्नीदेवी र श्रीराम साह रहेका छन्।



