मिथिलामा लोकनृत्य झिझियाको आफ्नै महत्व छ । ग्रामिण क्षेत्रमा वडा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म गाउँबस्तीमा गुञ्जिने झिझियाका गीतले कुनै समय मिथिलाको रातलाई जीवन्त बनाउँथे । तर, समयको प्रवाहसँगै यो मौलिक लोकनृत्य ग्रामीण क्षेत्रबाट क्रमशः हराउँदै गएको छ । सहरमा यसको प्रदर्शन बढे पनि परम्परागत स्वरूप भने संकटमा पर्दै गएको छ ।
संस्कृतिविद् तथा वरिष्ठ साहित्यकार रामभरोस कापडि भ्रमरका अनुसार छैटौँदेखि एघारौँ शताब्दीसम्म तान्त्रिक परम्पराको प्रभाव रहेको मानिने समयसँग झिझिया नृत्यको सुरुआत जोडिएको छ । यसको ऐतिहासिक तथा सामाजिक महत्त्व रहेको उनी बताउँछन् । लोकविश्वासअनुसार, बालबालिकालाई टुनामुना र कथित बोक्सीको प्रभावबाट जोगाउन महिलाहरूले देवीको उपासनासँग जोडेर यो नृत्य सुरु गरेका थिए । आफ्ना सन्तानको सुस्वास्थ्य, दीर्घायु र परिवारको कल्याणको कामना नै यसको मूल भावनाका रूपमा रहेको छ ।
झिझिया नृत्यको दृश्य आफैँमा अनौठो र आकर्षक हुन्छ । नयाँ माटोको घैँटोलाई सफा गरी त्यसमा असंख्य प्वाल बनाइन्छ । घैँटोभित्र दीप राखेर टाउकोमा अड्याइन्छ । आगोको उज्यालो छरपस्ट पार्दै महिलाहरू गीतको तालमा नाच्छन् । हातको सहाराबिना टाउकोमा घैँटो सन्तुलनमा राखेर नाच्नु उनीहरूको कला, धैर्य र साहसको परिचायक हो ।

परम्परागत रूपमा पाँचदेखि पन्ध्र जनासम्मका महिलाको समूहले झिझिया नृत्य प्रस्तुत गर्ने चलन थियो । समूहकी एक वा दुई महिलाले टाउकोमा घैँटो राखेर नाच्थे भने अन्य महिलाहरूले सामूहिक रूपमा गीत गाउँथे । नृत्य सुरु गर्नुअघि घैँटोलाई मन्त्रद्वारा सिद्ध गराउने र गाउँको ब्रह्मस्थान अर्थात् डिहबारमा पूजा गर्ने प्रचलन पनि रहेको थियो । त्यसपछि गाउँका घरघरमा पुगेर नृत्य प्रस्तुत गरिन्थ्यो । घरपरिवारबाट अन्न, तेल र रकम संङ्कलन गरी धार्मिक अनुष्ठान पूरा गर्ने परम्पराले समुदायबीच सहकार्य र सद्भावको सम्बन्धलाई बलियो बनाउँथ्यो ।
झिझियासँग जोडिएका गीतमा देवी दुर्गाको स्तुति गरिनुका साथै कथित बोक्सीलाई गाली गर्ने र चुनौती दिने भावसमेत पाइन्छ । घैँटाका प्वाल गन्न नसक्ने र त्यसो गर्न खोज्नेको तान्त्रिक शक्ति नष्ट हुने जनविश्वास यस नृत्यसँग जोडिएको छ । यद्यपि यस्ता विश्वासको वैज्ञानिक पुष्टि छैन, तर तिनले विगतको समाजमा व्याप्त भय, असुरक्षा र धार्मिक चेतनाको अवस्थालाई प्रतिबिम्बित गर्छन् ।
झिझिया नृत्यको सांस्कृतिक महत्त्वसँगै यसको सामाजिक सन्देशबारे बहस पनि आवश्यक छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्णका अनुसार झिझियाका गीत र नृत्यले समाजमा बोक्सी तथा धामीसम्बन्धी अन्धविश्वासलाई स्थापित गर्न सक्ने आलोचना पनि गर्दै छन् । उनका अनुसार लोकसंस्कृतिको संरक्षणका नाममा अन्धविश्वासलाई प्रोत्साहन गर्नुको सट्टा समाजमा वैज्ञानिक चेतना, मानवअधिकार र सकारात्मक सोच फैलाउनुपर्छ ।
उनको चिन्ता निराधार मान्न सकिँदैन । बोक्सीको आरोपमा महिलामाथि हुने अपमान, यातना र अमानवीय व्यवहार अझै पूर्ण रूपमा अन्त्य भएको छैन । यस्तो अवस्थामा कुनै पनि सांस्कृतिक प्रस्तुतिले कथित बोक्सीको अस्तित्वलाई वास्तविकताका रूपमा स्थापित गर्ने वा महिलाविरुद्धको विभेदलाई मलजल गर्ने अवस्था आउन दिनु हुँदैन । संस्कृति समाजको पहिचान हो, तर संस्कृति भएकै कारण हरेक मान्यता आलोचनाभन्दा माथि रहन सक्दैन । कुनै समय समाजले स्वीकारेका कतिपय अमानवीय प्रथालाई परिवर्तन गरिएको इतिहासले पनि यही कुरा पुष्टि गर्छ ।
तर, झिझियालाई अन्धविश्वाससँग मात्र जोडेर यसको सम्पूर्ण सांस्कृतिक मूल्य अस्वीकार गर्नु पनि उचित हुँदैन । यस नृत्यमा महिलाको सामूहिक सहभागिता, कलात्मक अभिव्यक्ति, लोकगीत, माटोको शिल्प, सामुदायिक सहयोग र देवीप्रतिको आस्था जस्ता पक्ष पनि समेटिएका छन् । झिझियामा प्रयोग हुने घैँटो र दीपलाई शरीर तथा चेतनाको प्रतीकका रूपमा व्याख्या गर्ने परम्परा पनि छ । घरघरबाट तेल सङ्कलन गरी दीप प्रज्वलित गर्ने चलनलाई सामूहिक सहयोगबाट चेतनाको ज्योति फैलाउने सन्देशका रूपमा लिन सकिन्छ ।
यसर्थ, यसको संरक्षण गर्दा सांस्कृतिक सम्पदाको मौलिकता र समाज सुधारको आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्छ । अन्धविश्वासलाई बढावा दिने शब्द र प्रस्तुतिलाई समयानुकूल परिमार्जन गर्दै लोकगीत, नृत्यशैली, वेशभूषा, वाद्यवादन र सामूहिक सहभागितालाई जीवन्त राख्न सकिन्छ। यसले परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई सकारात्मक सन्देश दिन पनि सहयोग पु¥याउँछ ।
हराउँदै गएको मौलिकता
ग्रामीण क्षेत्रमा झिझिया नृत्य हराउँदै जानुका पछाडि परम्परागत गीत गाउने महिलाको अभाव, नयाँ पुस्ताको घट्दो रुचि, अनुष्ठान सञ्चालनमा कठिनाइ र व्यवस्थापनको कमी जस्ता कारण छन् । अर्कोतर्फ, सहरमा यसले मञ्चीय तथा व्यावसायिक रूप लिन थालेको छ । यसले नृत्यलाई व्यापक पहिचान दिलाउने सम्भावना बढाए पनि परम्परागत विधि, सामूहिक सहभागिता र मौलिक प्रस्तुतिलाई कमजोर बनाउने जोखिम पनि छ ।

स्थानीय सरकारहरूले दसैँका अवसरमा झिझिया नृत्य आयोजना गर्नु सकारात्मक प्रयास हो। तर, वर्षमा एकपटक मञ्चमा नचाएर मात्र लोकसंस्कृतिको संरक्षण सम्भव हुँदैन। पुराना गीत र धुनको अभिलेखीकरण, अनुभवी कलाकारबाट नयाँ पुस्तालाई प्रशिक्षण, विद्यालयस्तरमा मिथिलाको लोकसंस्कृतिबारे अध्ययन तथा स्थानीय कलाकारलाई प्रोत्साहन आवश्यक छ। साथै, झिझियासँग जोडिएका सामाजिक विश्वासको विवेकपूर्ण व्याख्या गर्दै बोक्सीको आरोप र महिलामाथिको हिंसाविरुद्ध जनचेतना फैलाउनुपर्छ ।
झिझिया केवल टाउकोमा आगो बोकेर नाचिने नृत्य होइन; यो मिथिलाको सांस्कृतिक स्मृति, नारीको सामूहिक शक्ति र समुदायको साझा जीवनको कथा पनि हो । यसको दीप निभ्न नदिनु आवश्यक छ, तर त्यो दीपले अन्धविश्वासको अँध्यारो होइन, चेतना र सद्भावको उज्यालो फैलाउनुपर्छ। परम्परालाई जस्ताको तस्तै दोहो¥याउनु मात्र संरक्षण होइन; त्यसका जीवन्त र मानवीय पक्षलाई जोगाउँदै समयअनुकूल रूपान्तरण गर्नु नै साँचो सांस्कृतिक संरक्षण हो ।



