जनकपुरधाम, २ कात्तिक । धार्मिक तथा सांस्कृतिक सहरका रूपमा प्रसिद्ध जनकपुरधाममा बडादसैँको घटस्थापनादेखि महाष्टमीसम्म श्रद्धालुको घुइँचो लाग्ने गरेको छ । तर, राजदेवी मन्दिरमा बोकाबली सम्पन्न भएसँगै सहरको चहलपहल घटेको छ । मठमन्दिरमा देखिने भीडभाड, चौकचौराहमा गुञ्जिने भक्तिमय संगीत र दसैँ बजारको रौनकसमेत क्रमशः कम हुँदै गएको छ ।
बडादसैँको अवसरमा जनकपुरधामका प्रवेशद्वारदेखि प्रमुख सडक, चौकचौराह र मठमन्दिरसम्म आकर्षक पण्डाल निर्माण गरिन्छन् । ती पण्डालमा बज्ने भक्तिगीत र धार्मिक धुनले सहरको वातावरण उत्सवमय बन्ने गर्छ । जनकपुरधामको धार्मिक महत्त्व र राजदेवी माताप्रतिको आस्थाका कारण नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु यहाँ आउने गरेका छन् ।
जनकपुरधामको रामचोकस्थित राममन्दिर परिसरमा रहेको राजदेवी मन्दिर दसैँका बेला श्रद्धालुको प्रमुख आकर्षण बन्ने गरेको छ । विशेषगरी महाष्टमी अर्थात् कालरात्रिका दिन यहाँ बोकाबली दिन श्रद्धालुको ठूलो भीड लाग्ने गर्छ । बोकाबली सम्पन्न भएपछि भने अधिकांश श्रद्धालु फर्किने भएकाले सहरको चहलपहल घट्ने गरेको स्थानीय बताउँछन् ।
घटस्थापनादेखि जनकपुरधाममा दसैँ बजारसमेत सञ्चालन हुँदै आएको छ । सस्तो बजारका रूपमा चिनिने यस बजारमा किनमेल गर्ने र राजदेवी माताको दर्शन गर्ने श्रद्धालुको भीड लाग्छ । राजदेवी माताको दर्शन तथा पूजाआजा गरे मनोकामना पूरा हुने जनविश्वासका कारण भक्तजनहरू भाकल गर्न आउने गर्छन् ।

भाकल पूरा भएपछि श्रद्धालुले आफ्नो इच्छाशक्ति र परम्पराअनुसार प्रसाद चढाउने वा बोका बली दिने गर्छन् । महाष्टमीका दिन राजदेवी मातालाई भाकलअनुसार बोकाबली चढाएपछि धेरैजसो श्रद्धालु आ–आफ्नो घर फर्किने परम्परा छ । यही कारण अष्टमीपछि जनकपुरधाममा श्रद्धालुको चाप घट्ने गरेको स्थानीयको भनाइ छ ।
राम युवा कमिटीका अध्यक्ष विजय साहका अनुसार यस वर्ष राजदेवी मन्दिरमा १४ हजार ८९१ वटा बोकाबली प्रदान गरिएको छ । राजदेवी मन्दिरमा बोकाबलीको परम्परा लामो समयदेखि चल्दै आएको छ । उपलब्ध तथ्यांकअनुसार २०६६ देखि २०८३ सालसम्मको १८ वर्षमा कुल २ लाख ५१ हजार ४७९ वटा बोकाबली प्रदान गरिएको देखिन्छ ।
राजदेवी मन्दिरमा बोकाबली केवल धार्मिक परम्परा मात्र नभई जनकपुरधामको दसैँ उत्सव र स्थानीय सांस्कृतिक पहिचानसँग पनि जोडिएको छ । बोकाबलीका लागि देश तथा भारतबाट आउने श्रद्धालुका कारण दसैँको प्रारम्भिक दिनमा सहरमा विशेष चहलपहल देखिन्छ । तर, मुख्य धार्मिक अनुष्ठान सम्पन्न भएपछि श्रद्धालु फर्किन थालेसँगै जनकपुरधामको दसैँको रौनक पनि क्रमशः घट्दै जान्छ ।



