कैलास दास ।
उमेश साह-एक नाम, जसले जनकपुरधामको पत्रकारिताको एक युगको प्रतिनिधित्व गर्छ।
एक दशकसम्म काँधमा क्यामेरा बोकेर देश र समाजलाई समाचारमार्फत दिशा दिएका उनी आज राजनीतिक र साहित्यिक यात्रामा अग्रसर छन्। यद्यपि, आज पनि धेरै मानिसहरू उनलाई “एनटीभीकै उमेश साह” भनेर चिन्ने गर्छन्।
नेपाल टेलिभिजनबाट पत्रकारिता सुरु गरेका साह हाल नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय उपाध्यक्ष छन्। तर, बदलिंदो समयसँगै पनि पत्रकारिता प्रतिको स्मृति र मोहमा कुनै ह्रास आएको छैन। उनी भन्छन्, “तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा मैले नेपाल टेलिभिजनमा रिपोर्टिङ सुरु गरें। त्यो समय निकै कठिन थियो-न मोबाइल, न इन्टरनेट, न त डिजिटल क्यामरा। एकै व्यक्ति पत्रकार र कैमराम्यान दुवै हुनुपर्थ्यो।”
“पत्रकारिताप्रतिको रुचि कम थियो। जोखिम भने अत्यधिक। कहिले साइकल, कहिले सरकारी गाडी चढेर रिपोर्टिङ जानुपर्थ्यो,” उनी सम्झन्छन्।
“आजजस्तो सहज पहुँच भएको थिएन। दृश्य खिच्ने, समाचार तयार गर्ने अनि वाइएरमार्फत केन्द्रीय कार्यालय पठाउनुपर्ने बाध्यता थियो। ढिला भयो भने समाचार नै प्रसारण हुन्नथ्यो,” साह भावुक हुँदै भन्छन्।
उनका अनुसार पत्रकारिता केवल पेशा होइन, दायित्व हो। “पत्रकारितामा जुनून हुनुपर्छ। जिम्मेवारी नबुझी टिक्न सकिँदैन,” उनी दृढता प्रकट गर्छन्।
विगत र वर्तमान पत्रकारिताको तुलना गर्दै उनी भन्छन्, “दलगत पत्रकारिता पहिल्यै थियो, तर इमानदारी थियो। अहिले त्यो हराउँदै गएको छ। समर्पणवाद हावी छ। सुधारको सम्भावना भने अझै म मर्दैन।”

धनुषा शाखाको नेपाल पत्रकार महासंघ अध्यक्ष भएर काम गर्दा उनले गम्भीर चुनौतीहरू भोगे। “मेरो कार्यकालमै साहसी महिला पत्रकार उमा सिंहको अज्ञात समूहद्वारा हत्या गरियो। ती दिनहरू म कहिल्यै बिर्सन सक्दिनँ,” उनी सम्झन्छन्।
नेपाल टेलिभिजन छाडेको करिब डेढ दशकपछि उनले ‘मिथिला ऋतु’ नामक साप्ताहिक पत्रिका सुरु गरे। पत्रिकामा प्रकाशित ‘नियति’ नामक स्तम्भ अत्यन्त लोकप्रिय बन्यो। हप्तौसम्म पाठकहरू त्यो स्तम्भको प्रतीक्षामा बस्ने गर्थे, जहाँ हरेक साताका सामाजिक र समसामयिक विषयलाई समेटिएको हुन्थ्यो। पछि सोही स्तम्भलाई सङ्गालेर ‘नियति’ नामक पुस्तक प्रकाशित गरियो, जसको विमोचन तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरे।
भट्टराईको इमानदार राजनीतिक धाराबाट प्रभावित साह विस्तारै राजनीतिमा आकर्षित भए। पत्रकारिता मात्रबाट परिवर्तन सम्भव नभएको महसुसपछि उनले राजनीतिको बाटो रोजे। जनकपुरधाम उपमहानगरपालिकाको मेयरका उम्मेदवार बने, प्रतिनिधिसभामा पनि प्रतिस्पर्धा गरे।
“स्वच्छ र कर्तव्यनिष्ठ व्यक्तिहरूलाई राजनीति अस्वीकार गर्छ,” उनी भन्छन्, “त्यसैले देश संकटमा फसिरहेको छ।”
देशमा दुवै ठूला दलको सरकार हुँदाहुँदै पनि आर्थिक मन्दी, बेरोजगारी, महँगी र भ्रष्टाचारले जनता थिचिएकोप्रति उनी चिन्तित छन्। कहिलेकाहीं सामाजिक सञ्जालमार्फत आक्रोश पोख्छन्।
उनको भनाइमा, “राजनीति र पत्रकारिता दुवै इमानदार भए, नागरिकलाई समृद्ध बन्न कसैले रोक्न सक्दैन।”

आज पनि पत्रकारिताको आत्मा बोक्दै उनले भन्छन्, “विगत र वर्तमान पत्रकारितामा आकाश-पातालको अन्तर छ। जुन पेशाले समाजलाई उज्यालो देखाउने थियो, त्यही पेशा अहिले स्वयं अन्धकारमा हराउँदैछ।”

