जनकपुरधाम, ८ कात्तिक । कुनै बेला सिनेमा हेर्न टिकट पाउन मुस्किल हुन्थ्यो । बिहान ९ बजेदेखि राति ९ बजेसम्म चारवटा शो सञ्चालन हुन्थे । गाउँगाउँबाट दर्शक सिनेमा हेर्न जनकपुरधाम पुग्थे । हलमा टिकट नपाएपछि ब्ल्याकमा किन्नुपर्ने बाध्यता हुन्थ्यो । तर, समय बदलिएको छ । दर्शकको भीडले भरिभराउ हुने सिनेमा हल अहिले सुनसान बन्दै गएका छन् । कुनै बेला जनकपुरधामको मनोरञ्जन र सामाजिक जमघटको केन्द्र बनेका हलमध्ये केही बन्द भइसकेका छन् भने केही अस्तित्व जोगाउने सङ्घर्षमा छन् ।
जनकपुरधामको सबैभन्दा पुरानो सिनेमा हलका रूपमा स्थापित हनुमान टाँकिज कुनै समय दर्शकको प्रमुख आकर्षण थियो । त्यसपछि निर्माण भएका निलम, आशा, गिरिजा र रामजानकी टाँकिजले पनि चलचित्र प्रदर्शनमा प्रतिस्पर्धा गर्थे । चारवटै हलमा दर्शकको चाप हुन्थ्यो । नयाँ चलचित्र लाग्दा टिकट पाउनै कठिन हुने अवस्था थियो । तर, अहिले ती हलको विगतको चमक हराउँदै गएको छ । कुनै हलको अवस्था दयनीय छ भने हनुमान टाँकिज बन्द भइसकेको छ ।
सिनेमा हलको यो अवस्था आउनुमा प्रविधिको विकाससँगै दर्शकको रुचिमा आएको परिवर्तन, चलचित्र निर्माणको शैली र लगानी अभावलगायत कारण जिम्मेवार देखिन्छन् । डिजिटल प्रविधिको विस्तार भए पनि हलको पूर्वाधार र प्रदर्शन प्रणालीमा अपेक्षित सुधार हुन नसक्नु अर्को चुनौती बनेको छ । पुराना उपकरण, आधुनिक सुविधाको कमी र पर्याप्त लगानीको अभावले हल सञ्चालकलाई प्रतिस्पर्धा गर्न कठिन बनाएको छ । त्यसमाथि युट्युब र इन्टरनेटका अन्य माध्यमबाट घरमै चलचित्र हेर्न सकिने सुविधाले हलसम्म पुग्ने दर्शकको सङ्ख्या घटाएको व्यवसायीको भनाइ छ ।
पत्रकार वीरेन्द्र कर्णका अनुसार पहिले सामाजिक परिवेश, पारिवारिक सम्बन्ध र राजनीतिक घटनाक्रममा आधारित चलचित्र निर्माण हुन्थे। यस्ता चलचित्र हेर्न परिवारका सदस्य एकसाथ हल पुग्ने गर्थे । चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको अवस्था, विचार र जीवनशैली बुझ्ने अवसरसमेत हुन्थ्यो । अहिले चलचित्रको विषयवस्तु र प्रस्तुति शैलीमा आएको परिवर्तनसँगै पुराना दर्शकको आकर्षण घटेको उनको बुझाइ छ । घरमै इन्टरनेटको माध्यमबाट चलचित्र हेर्न सकिने सुविधाले पनि हलसम्म पुग्ने आवश्यकता कम गरिदिएको छ ।
जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्रकुमार भण्डारी पनि सिनेमा हलको खस्कँदो अवस्थालाई बदलिँदो सामाजिक परिवेश र दर्शकको रुचिसँग जोड्छन् । उनका अनुसार पहिले परिवारलाई जोड्ने, सामाजिक संस्कार र जीवनका विभिन्न पक्षलाई समेट्ने चलचित्र हेर्न मानिसहरू हल पुग्थे । अहिले चलचित्रको विषयवस्तु र हेर्ने माध्यम दुवै परिवर्तन भएका छन् । विशेषगरी ग्रामीण क्षेत्रका दर्शकको हलप्रतिको आकर्षण घटेको छ । घरमै युट्युबबाट नयाँ चलचित्र हेर्न सकिने भएपछि हलको व्यवसाय थप प्रभावित भएको छ ।
भण्डारीका अनुसार लगानीअनुसार आम्दानी नहुँदा सिनेमा हल सञ्चालन गर्न कठिन हुँदै गएको छ । केही हल जसोतसो चलिरहेका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन् । कुनै समय जनकपुरधामको पहिचान र मनोरञ्जनको महत्त्वपूर्ण केन्द्र बनेका सिनेमा हल अहिले आफ्नो अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेका छन् ।
सिनेमा हलको सङ्कटलाई प्रविधिको प्रभाव वा दर्शकको रुचिमा आएको परिवर्तनका रूपमा मात्र हेर्न मिल्दैन । यो मनोरञ्जनको माध्यमसँगै सहरको सांस्कृतिक जीवनमा आएको परिवर्तन पनि हो । आधुनिक प्रविधि, गुणस्तरीय प्रदर्शन सुविधा, दर्शकमैत्री वातावरण र समयअनुकूल चलचित्रको छनोटमा ध्यान दिन सके हल व्यवसायले पुनर्जीवन पाउने सम्भावना रहन्छ। अन्यथा, कुनै समय दर्शकको चहलपहलले गुञ्जायमान हुने जनकपुरधामका सिनेमा हल इतिहासका सम्झनामा मात्र सीमित हुने जोखिम छ ।



