काठमाडौं १८ असार।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको छ।
ढाका ट्रिब्युनको अनुसार, अपदस्थ अवामी लिग नेतृसमेत रहेकी हसिनामाथि न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले बुधबार फैसला सुनाएको हो।
यसै मुद्दामा गाइबान्धाको गोविन्दगञ्ज निवासी शाकिल आकन्द बुलबुललाई पनि २ महिनाको कैद सजाय सुनाइएको छ।
शेख हसिनाले ११ महिनाअघि प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश त्याग गरेकी थिइन्। उनले २०२४ अगस्ट ५ मा पदत्याग गर्दै ढाकास्थित सरकारी निवास खाली गरी भारततर्फ प्रस्थान गरेकी थिइन्। त्यही बेला ढाकामा जारी कर्फ्युको अवज्ञा गर्दै हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए।
शेख हसिनामाथि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले २०२५ को जुन महिनामा औपचारिक रूपमा ‘मानवता विरुद्धका अपराध’ को आरोप लगाएको थियो। अभियोजन पक्षका अनुसार, २०२४ को जुलाईमा देशभर फैलिएको जनविद्रोहका क्रममा भएको सामूहिक हत्या र हिंसात्मक दमनको आदेश दिने प्रमुख व्यक्तिका रूपमा शेख हसिनाको नाम उल्लेख गरिएको छ।
मुख्य अभियोजक मोहम्मद ताजुल इस्लाम र उनको टोलीले अदालतमा बुझाएको आरोपपत्रमा हसिनालाई जुलाई र अगस्ट २०२४ मा भएका दमनात्मक कारबाहीहरूको मुख्य योजनाकारका रूपमा चित्रण गरिएको छ।
यस मुद्दाले बंगलादेशको राजनीतिक वातावरणमा थप तरंग ल्याउने देखिएको छ।



