जनकपुरधाम, १७ भदौ । महोत्तरीको पिपरा गाउँपालिका–३ बन्चटोलवाका दलित समुदायले पुस्तौँदेखि पूजाआराधना गर्दै आएको धार्मिकस्थलमा मन्दिर निर्माण गर्न खोज्दा जातीय विभेद, सामाजिक बहिष्कार, कुटपिट र धम्कीको सामना गर्नुपरेको आरोप लगाएका छन् ।
दलित समुदायका राजेश दास, गणेश दास तत्मा, रामनाथ पासवान र भोला दास लगायतले बुधबार पत्रकार सम्मेलन गरी आफूहरूले चन्दा संकलन गरेर पुरानो चम्पा देवीको मन्दिर पुनर्निर्माण गर्न खोज्दा केही स्थानीयले अवरोध गरेको बताएका हुन् ।
उनीहरूका अनुसार सिंगारिया पोखरीको दक्षिण र पश्चिम मोहडामा रहेको चम्पा देवीको पुरानो मन्दिर यसअघि झोपडीजस्तो अवस्थामा थियो । दलित समुदायले आफ्नै पहल र चन्दा संकलनबाट त्यसलाई व्यवस्थित संरचनामा निर्माण गर्न थालेपछि केही स्थानीयले काम रोक्न दबाब दिएको, गालीगलौज गरेको तथा कुटपिटसमेत गरेको उनीहरूको आरोप छ ।
पीडित पक्षले आफूहरूमाथि भएको भनिएको कुटपिटमा विजय साह, सुरज साहलगायत संलग्न रहेको आरोप लगाएका छन् । लाठी तथा अन्य हतियार प्रयोग गरी भएको भनिएको आक्रमणमा एक जनाको नाकको हड्डी भाँचिएको र अन्य केही व्यक्ति घाइते भएको उनीहरूको दाबी छ । घाइतेको अस्पतालको परीक्षण प्रतिवेदन तथा एमआरआई र एक्स–रे रिपोर्ट हुँदाहुँदै पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको आरोपसमेत उनीहरूले लगाएका छन् ।

दलित समुदायले सोही स्थानमा पुस्तौँदेखि च्याम्हाई महारानी अर्थात् दुर्गा देवीको स्वरूपको पूजा गर्दै आएको बताएका छन् । आफूहरूले धार्मिक आस्थासँग जोडिएको पुरानो स्थलमा मन्दिर निर्माण गर्न खोज्दा मात्रै अवरोध र विभेद गरिएको उनीहरूको गुनासो छ ।
उनीहरूले सोही क्षेत्रमा बाबा गणिनाथको मन्दिर निर्माणका क्रममा सार्वजनिक स्रोतको प्रयोग हुँदा कुनै अवरोध नभएको, तर दलित समुदायले आफ्नो धार्मिकस्थलमा मन्दिर बनाउन खोज्दा रोक लगाइएको आरोप लगाएका छन् ।
यसैबीच, गाउँपालिका अध्यक्ष राम जानकी यादवले पदको दुरुपयोग गरी सार्वजनिक बजेटबाट शाह समुदायलाई मात्र लाभ पुग्ने गरी गणिनाथ बाबा मन्दिर निर्माण गराएको आरोपसमेत उनीहरूले लगाएका छन् । आफूहरूले चन्दा उठाएर मन्दिर निर्माणका लागि माटो पुर्ने काम सुरु गर्दा गाउँपालिका अध्यक्षले गालीगलौज गर्दै काम रोक्न लगाएको र विवाद समाधानका लागि बोलाइएको छलफलमा समेत निष्पक्ष निर्णय नगरेको उनीहरूको आरोप छ ।
घटनाबारे जिल्ला प्रशासन कार्यालय महोत्तरीमा छलफल भए पनि आफूहरूले न्याय पाउन नसकेको पीडित पक्षको भनाइ छ । उनीहरूले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमाथि समेत विभेदकारी र अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन् ।
उजुरीकर्ताका अनुसार २०८३ भदौ १६ गते प्रमुख जिल्ला अधिकारी यादवको रोहबरमा भएको छलफलमा आफूहरूलाई होच्याउने अभिव्यक्ति दिइएको थियो । सीडीओ यादवले दलित समुदायलाई लक्षित गर्दै ‘तिमीहरूको बस्ती भए पनि साना जातका मान्छेहरू हौ’ भन्दै अपमानजनक शब्द प्रयोग गरेको र मन्दिर करिब ५०० मिटर टाढा बनाउन भनेको आरोप उनीहरूले लगाएका छन् ।
त्यस्तै, मुद्दा दर्ता गरे जरिवाना गराउने तथा कारबाही गर्ने भन्दै धम्क्याएको र दलित समुदायको जाहेरी दर्ता नगर्न दबाब दिएको आरोपसमेत उनीहरूले लगाएका छन् । छलफलका क्रममा गाउँपालिका अध्यक्ष यादव तथा अन्य पक्षका मानिसहरू उपस्थित रहेकै अवस्थामा दलित प्रतिनिधिहरूलाई उठ्न दबाब दिइएको दाबीसमेत उजुरीमा गरिएको छ ।
पीडित पक्षले प्रशासनिक निकायबाटै जातीय विभेद र अपमानजनक व्यवहार भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिनको माग गरेको छ । उनीहरूले जातीय विभेद, कुटपिट, धम्की तथा सार्वजनिक स्रोतको दुरुपयोगमा संलग्न भनिएका व्यक्तिमाथि कानुनी कारबाही गर्न राष्ट्रिय दलित आयोगसमक्ष आग्रह गरेका छन् ।
दलित आयोग, भकुन्डेबेँसी, काठमाडौंमा दिइएको उजुरीमा दलित समुदायको धार्मिक आस्था तथा संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको दाबी गरिएको छ । उनीहरूले आफ्नो धार्मिक स्वतन्त्रता, सुरक्षा र न्याय सुनिश्चित गर्न आयोग तथा सम्बन्धित निकायबाट आवश्यक पहल हुनुपर्ने माग गरेका छन् ।
नेपालको संविधानको धारा २४ ले सुनिश्चित गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक र धारा ४० मा व्यवस्था गरिएको दलितको हक उल्लङ्घन भएको दाबी गरेका छन् । साथै, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ विपरीतका गतिविधिको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।



