जनकपुरधाम, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि मधेश प्रदेश सरकारले करिब २ करोड रुपैयाँ बराबरको राहत तथा सहयोग उपलब्ध गराउने भएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोका अनुसार प्रदेश सरकारले पहिलो चरणमा करिब १ करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री रसुवा पठाउने तयारी गरेको छ । राहत सामग्रीमा कम्बल, खाद्यान्नलगायतका अत्यावश्यक सामग्री समावेश छन्।
मन्त्री महतोले तत्काल ७ हजार थान कम्बल, ७ सय टेण्ट तथा खाद्य सामग्री रसुवा पठाउने तयारी भई सक्यो । सम्भवतः मधेश प्रदेशबाट स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्रमा जान्छ भने ।
मन्त्री महतोले अन्तरप्रदेशीय सहयोगका लागि मन्त्री परिषदबाट निर्णय गराउनुपर्छ । त्यसका लागि गृह, सञ्चार तथा कानून मन्त्रालयले राहत समाग्री वितरण सम्बन्धी कागजातहरु मन्त्री परिषद्मा पठाई सक्यो । आजै वा भोलिसम्म निर्णय भएर आएपछि बुधवार नै म आफ्नै नेतृत्वमा राहत समाग्रीहरु लिएर रसुवा जाँदैछु भने ।
बाढीपीडितको सहयोगका लागि मधेश प्रदेशसभाले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुटाउने प्रक्रिया अघि बढाएको मन्त्री महतोले बताए । प्रदेशसभा सदस्य तथा कर्मचारीबाट राहत संकलन भइरहेको उनको भनाइ छ ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)बाट मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने १५ जना सांसदलाई १५ दिनको तलब राहत कोषमा उपलब्ध गराउन निर्देशन आएको मन्त्री महतोले जानकारी दिए। प्रदेशका मन्त्रीहरूले पनि १५ दिन बराबरको सेवा–सुविधा राहत कोषमा जम्मा गर्ने तयारी भइरहेको उनले बताए।
प्रदेश सरकार, प्रदेशसभा, मन्त्री, सांसद तथा कर्मचारीबाट संकलित रकम र राहत सामग्री गरी करिब २ करोड रुपैयाँभन्दा बढीको सहयोग बाढीपीडितका लागि उपलब्ध गराइने मन्त्री महतोले बताए।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। बाढीपछि ठूलो संख्यामा नागरिक बेपत्ता भएका छन् भने विभिन्न स्थानबाट शव फेला पर्ने क्रम जारी रहेको जनाइएको छ।
बाढीमा मधेश प्रदेशका नागरिकसमेत प्रभावित भएका छन्। प्रदेशका करिब दुई दर्जन नागरिक बेपत्ता रहेको र चार जनाको शव फेला परेको जनाइएको छ।



