जनकपुरधाम, १८ भदौ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग गर्न मधेश प्रदेशका मानवअधिकारकर्मीहरू जुटेका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशका संयोजक राजु पासमानको नेतृत्वमा बसेको मानवअधिकारकर्मीहरूको बैठकले बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित तथा घाइते नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकमा विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरूले जोड दिए। उनीहरूले विपद्का कारण घरबारविहीन तथा संकटमा परेका नागरिकलाई राज्यका साथै नागरिक समाज र मानवअधिकार क्षेत्रमा कार्यरत संस्थाहरूले समेत आ–आफ्नो स्तरबाट सहयोग गर्नुपर्ने धारणा राखे।
बैठकले बाढीपहिरो प्रभावितका लागि आवश्यक राहत तथा सहयोग जुटाउने र त्यसलाई प्रभावकारी रूपमा प्रभावित समुदायसम्म पुर्याउन सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गर्ने निर्णयसमेत गरेको छ।
सहभागीहरूले विपद्का बेला पीडित नागरिकको जीवनरक्षा, मानवीय सहायता र आधारभूत आवश्यकताको सुनिश्चितता पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन्। साथै, प्रभावित नागरिकको अधिकार संरक्षण र उनीहरूको पुनःस्थापनाका लागि निरन्तर पहल आवश्यक रहेको धारणा व्यक्त गरे।
बैठकमा मानवअधिकार क्षेत्रमा कार्यरत अमृता घिमिरे, विनोद महरा, कैलास दास, पुरुषोत्तम यादव, सञ्जु यादव, सुभद्रा आले, निरबहादुर काफ्ले, समिता कुमारी, रिमा झा र ममता विश्वकर्मालगायतको उपस्थिति थियो।



