जनकपुरधाम, २१ असार । महोत्तरीको भंगहा नगरपालिकाका नगरप्रमुख संजीव कुमार साहले पत्रकारहरूलाई व्यक्तिलाई लक्षित गर्दै ‘टार्गेट पत्रकारिता’ नगर्न आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघ प्रादेशिक कार्यालयको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका मेयर साहले पत्रकारिता पेशालाई मर्यादित र समाजको आइना बनाइराख्न आग्रह गरे।
“पत्रकार समाज र नागरिकको विश्वासको केन्द्र हो। तर व्यक्तिगत रिसइवी वा इगोका कारण समाचार लेख्दा पत्रकारप्रतिको जनविश्वास घटेको छ,” मेयर साहले भने। उनले पत्रकार महासंघको प्रादेशिक कार्यालय निर्माणका लागि भंगहा नगरपालिकाभित्र आवश्यकतानुसार निजी जग्गा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए।

पत्रकारिता स्वतन्त्र र मर्यादित हुनुपर्ने
“पत्रकारको कलमले समाजलाई सचेत गराउने काम गर्छ, त्यसैले हामी पत्रकारको सम्मान गर्छौं,” मेयर साहले थपे, “तर पत्रकारिता स्वतन्त्र र मर्यादित पेशा भए पनि त्यसको नाममा अत्याचार गर्नु अनुचित हुन्छ।”
प्रेस स्वतन्त्रता खुम्च्याउने सरकारी प्रयासप्रति चिन्ता
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दहालले संघदेखि स्थानीय सरकारसम्म पत्रकारलाई सघुरो कोठामा राख्न खोजिएको गम्भीर आरोप लगाए। “प्रेस स्वतन्त्रता हटाउने सोच हटाउनु आवश्यक छ। पत्रकार महासंघ नागरिक आवाज उठाउने संस्था हो, अन्यायविरुद्ध कलम चलाउने संस्था हो,” उनले भने।
नेपाल पत्रकार महासंघ केन्द्रिय लेखा समिति अध्यक्ष केसी लामिछानेले सञ्चारमन्त्रीले दिएको विभाजनकारी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, “पत्रकारको संरक्षण, सम्बर्द्धन र निष्पक्षताको जिम्मा सञ्चार मन्त्रालयको हो। तर मन्त्रीकै अभिव्यक्ति आचारसंहिताविपरीत भएको पाइएको छ, पत्रकारहरू चुप लागेर बस्ने अवस्थामा छैनन्।”
उनले संघ र प्रदेश सरकारले आफ्नै हितमा सञ्चारमाध्यम खोल्न खोजेको र पत्रकारितालाई सीमित गर्न खोज्नु संघीयताको मर्मविपरीत भएको बताए।
प्रदेश सरकारको नियतप्रति गम्भीर प्रश्न
महासंघका केन्द्रिय सदस्य राजेश कुमार कर्णले मधेश प्रदेश सरकारप्रति आलोचना गर्दै लोककल्याणकारी विज्ञापन कटौती गरिएपछि प्रदेशका पत्रकार मारमा परेको बताए। “प्रदेश सरकारले बजेटको ठुलो हिस्सा केन्द्रमा सञ्चालित मिडियामा खर्च गरेको छ। यो संघीयताको लडाइँमा सहभागी पत्रकारमाथिको धोका हो,” उनले भने।
प्रेस स्वतन्त्रताको पक्षमा सुरक्षा निकायको समर्थन
सशस्त्र प्रहरीका डिआइजी कृष्णराज ढकाल र नेपाल प्रहरीका डिआइजी उमाप्रसाद चतुर्वेदीले पत्रकारहरू स्वतन्त्र र निडर भएर कलम चलाउन सकून् भनेर आफूहरू सधैँ तयार रहेको बताए।
कनक लता पत्रकारिता पुरस्कार घोषणा
प्रेस स्वतन्त्रता सेनानी रामभरत साहले “राम भरत साह कनक लता उत्कृष्ट पत्रकारिता पुरस्कार” को घोषणा गर्दै उक्त पुरस्कार पत्रकार महासंघको स्थापना दिवसको अवसरमा प्रदान गरिने जानकारी दिए। पुरस्कार वितरणको प्राथमिकता क्रमशः जिल्ला, प्रदेश र अधिराज्यभरिका पत्रकारलाई हुने बताइएको छ।
कार्यक्रम नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार अबधेश झा, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास, केन्द्रिय सदस्यहरू सिकेन्द्र पासवान, राजु विश्वकर्मा, सत्यप्रकाश श्रेष्ठ, चौतारीका केन्द्रिय सदस्य प्रविण साह, सभामुखका प्रेस सल्लाहकार अबधेश कामत, धनुषा अध्यक्ष पुरण साह, र सप्तरी अध्यक्ष श्रवण देव लगायतले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

