काठमाडौं २२ असार । भोजपुरमा एक व्यक्तिले आफ्नै परिवारका चार सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। भोजपुर नगरपालिका–२ निवासी राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको निर्मम हत्या गरेका हुन्।जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राजेन्द्र राईले आफैँ प्रहरी कन्ट्रोल रुममा फोन गरी चार जनाको हत्या गरेको स्वीकार गर्दै आफूलाई पक्राउ गर्न आउन आग्रह गरेका थिए। सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट ओख्रेबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालित गरिएको थियो।प्रहरीले उनलाई रामप्रसाद राई गाउँपालिका–१, हर्बुभन्ज्याङ भन्ने स्थानमा पेटमा धारिलो हतियारको चोट लागेको अवस्थामा फेला पारेको छ।हत्या गरिएका व्यक्तिहरूमा उनका ससुरा ६८ वर्षीय बेलबहादुर गिरि, सासु बिन्दु गिरी तथा श्रीमती र सालो रहेका छन्। प्रहरीले श्रीमती र सालो नाबालक भएको जनाउँदै उनीहरूको नाम सार्वजनिक गरेको छैन।प्रहरीका अनुसार राजेन्द्र राईले करिब दुई वर्षअघि प्रेम विवाह गरेका थिए। उनलाई हाल नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।

