जनकपुरधाम, २२ असार । नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिमाथि कडा आरोप लगाएका छन्।
नेता निधिले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माण सम्बन्धमा नेता महासेठमाथि आरोप लगाउँदै हिजो पत्रकार सम्मेलन गरेका थिए। त्यसको जवाफस्वरूप आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले निधिलाई "विकास विरोधी मानसिकताले ग्रसित" रहेको भन्दै आलोचना गरे।
महासेठले भने, “जनकपुरधामको फोहोरमैला व्यवस्थापन हुन नसकेकोदेखि लिएर, दुर्गानन्द झाजस्ता ऐतिहासिक पात्रहरूको योगदानको उपेक्षा गर्ने व्यक्ति विमलेन्द्र निधि हुन्।” उनले जनकपुरधामको गंगासागर डिलमा स्वर्गीय रामनारायण मिश्रको स्मृति भवन बनाउन खोज्दा विरोध गर्ने, जटहीमा बन्न लागेको दुर्गानन्द झाको स्मृति भवन रोकिने जस्ता घटनामा निधिको संलग्नता रहेको आरोप लगाए।
उनले निधिमाथि आरोप लगाउँदै थपे, “रामनारायण मिश्र जुन पार्टीका भए पनि मुलुक र जनकपुरधामको लागि उहाँको योगदान अविस्मरणीय छ। स्मृति भवन एक कठ्ठामा बनाउनु हुँदैन भनेर विरोध गर्नु विकास विरोधी सोचको परिचायक हो।” उनले जनकपुरधाममा बनेको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनझैं मिश्रको स्मृति भवन पनि बन्नुपर्ने तर्क गरे।
महासेठले निधिका कारण प्रजातान्त्रिक आन्दोलनका वीर शहीद दुर्गानन्द झाको शालिक समेत नबन्न सकिएको आरोप लगाए। “नेता निधिले आफ्नो परिवार बाहेक अरू कसैको कद उँचो नहोस् भन्ने सोचले अनेक अवरोध सृजना गर्दै आएका छन्,” उनले आरोप लगाए।
राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवनबारे निधिले दिएको अभिव्यक्तिलाई "व्यक्तिगत स्वार्थप्रेरित" बताउँदै महासेठले विश्वविद्यालय निधिले ल्याएको नभएको दाबी गरे। “राजर्षि जनक विश्वविद्यालय सम्पूर्ण मिथिला र मधेशबासीको परिकल्पना हो। यसको भवन मनियारीमा बनोस् वा अन्यत्र, तर बन्नै पर्छ,” उनले भने।
महासेठले निधिलाई मित्रको रूपमा सम्मान गर्ने उल्लेख गर्दै भने, “तर पछिल्लो समय उहाँका अभिव्यक्तिहरू गैर–राजनीतिक र पूर्वाग्रही देखिन्छन्। उहाँ विकास निर्माणको काममा अवरोध गर्नुबाहेक कुनै सकारात्मक भूमिका निर्वाह गरिरहनु भएको छैन।”
यसअघि नेता निधिले पत्रकार सम्मेलनमार्फत राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन मनियारीबाट अन्यत्र सार्ने प्रयास भएको आरोप लगाएका थिए, जसको खण्डन गर्दै महासेठले आफूले त्यस्तो कुनै प्रयास नगरेको स्पष्ट पारे।

