जनकपुरधाम, ३१ असार । मुख्यमन्त्री सतीशकुमार सिंह र संघीय खानेपानीमन्त्री प्रदीप यादवबीच आज जनकपुरधाममा भएको भेटवार्तामा मधेश प्रदेशको खानेपानी समस्या समाधानका लागि संघीय र प्रदेश सरकार संयुक्त रूपमा अभियान सञ्चालन गर्ने सहमति भएको छ ।
दुवै तहका सरकारका संयन्त्रहरू संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि तत्काल क्रियाशील बन्ने सहमति भएको छ । प्रदेश र संघीय सरकारका उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै खानेपानीसम्बन्धी ससर्त योजनाहरूलाई प्राथमिकता दिइने र छिटो कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।
जनताले भोगिरहेको खानेपानी संकटको बेलामा सरकार प्रत्यक्ष रूपमा साथमा रहेको अनुभूति हुने गरी सक्रिय हस्तक्षेप गर्न सम्बन्धित मन्त्रालय र निकायहरूलाई आवश्यक निर्देशन दिइएको मुख्यमन्त्री सिंहले स्पष्ट गर्नुभयो ।
भेटमा मधेश प्रदेशका ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित मन्त्रालयका विज्ञ तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



