जनकपुरधाम, ३२ असार । आर्थिक वर्ष २०८१/०८२ मा धनुषा जिल्ला अदालतले कूल मुद्दामध्ये ५६.८९ प्रतिशतको फर्छ्यौट गरेको छ।
अदालतमा हालसम्म नयाँ र पुराना गरी ९ हजार ९ सय ३२ मुद्दा दर्ता भएका छन्, जसमध्ये ५ हजार ६ सय ४९ मुद्दाको फर्छ्यौट भएको छ। बाँकी ४ हजार २ सय ८२ मुद्दा अझै विचाराधीन छन्।
जिल्ला न्यायाधीश चुडामन खड्काका अनुसार अदालतलाई वार्षिकरूपमा ६५ प्रतिशत मुद्दा टुंग्याउने लक्ष्य तोकिएको थियो। तर, अनुमानभन्दा धेरै नयाँ मुद्दा दर्ता भएकाले लक्ष्यमा पुग्न नसकिएको हो।
१८ महिनाभित्र टुंग्याउनुपर्ने २ हजार ७८ मुद्दामध्ये १ हजार ८ सय ३९ फर्छ्यौट भएका छन्। दुई वर्षभन्दा पुराना १ हजार १ सय ४६ मुद्दामध्ये १ हजार ४७ को फैसला भइसकेको छ।
पारिवारिक इजलासमा ५८२ मुद्दामध्ये ३०६ फर्छ्यौट भएका छन् भने वाल इजलासमा १८१ मध्ये १२८ मुद्दाको टुंगो लागेको छ।
देवानी मुद्दामध्ये लेनदेन, अंशबन्डा, सम्बन्धविच्छेद र नाता कायमसम्बन्धी बढी छन्। फौजदारीमा बैंकिङ्ग, करणी, बालविवाहलगायतका मुद्दा छन्।
अदालतले क्षमता अनुसार काम गरिरहे पनि मुद्दाको भार अत्यधिक भएकाले फर्छ्यौटमा चुनौती भएको जनाएको छ।

