जनकपुरधाम, ४ साउन । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले अब आफ्नै भवन निर्माण प्रक्रिया सुरु गर्ने जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकास्थित श्रीराम मन्दिर गुठीको जग्गा लिजमा प्राप्त भई सकेकोले भवन निर्माण कार्य चाँडै सुरु हुने प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जाराले जानकारी दिए ।
गुठीको जग्गा लिजमा लिनका लागि लामो समयसम्म संघर्ष गर्नु परेको उल्लेख गर्दै अध्यक्ष बन्जाराले भने, “गुठीको जग्गा प्राप्त गर्नु आफैंमा चुनौती थियो। त्यसमाथि आफ्नै समुदाय, अर्थात् पत्रकारहरूमध्ये केहीले असहयोग गरेका थिए। अन्ततः त्यो जग्गा महासंघको नाममा लिजमा लिन सफल भयौं।”
जग्गासम्बन्धी निर्णय सार्वजनिक भएपछि मधेश प्रदेशका संचार, कानून तथा गृहमन्त्री राजकुमार लेखीले केही आलोचनात्मक टिप्पणी गरेका थिए। महासंघले ती टिप्पणीलाई असहज त ठानेको भए पनि त्यसैबाट प्रेरणा लिएर अझ दृढताका साथ अगाडि बढ्न सकेको अध्यक्ष बन्जाराको भनाइ छ।
जग्गा प्राप्तिमा केन्द्रीय समितिदेखि गुठी संस्थानसम्म पु¥याइएको चासो, सुझाव र पत्राचार महत्त्वपूर्ण रहेको बताउँदै महासचिव रामप्रसाद दाहाललगायत नेतृत्वको योगदान स्मरणीय रहेको अध्यक्ष बन्जाराले उल्लेख गरे।
भवन निर्माणका लागि आवश्यक बजेटमा कञ्जुस्याइँ नगरिने प्रतिबद्धता प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवबाट प्राप्त भएकाले महासंघ यस विषयमा आश्वस्त रहेको जनाएको छ।

